थप निःशुल्क औषधीको पर्खाईमा बिरामीहरु

  • 26 डिसेम्बर 2014
Image caption बजेट अभावका कारण पनि औषधी वितरण कार्य प्रभावित भएको अधिकारीहरु बताउँछन्

सरकारले निःशुल्क दिनका निम्ति थपेको विभिन्न ३० किसिमका औषधीहरु घोषणा भएको चार महिनापछि पनि बिरामीहरुले स्वास्थ्य केन्द्रहरुबाट पाउन नसकेको बताईएको छ।

नसर्ने रोगहरुको उपचारका लागि उपलब्ध गराईने त्यस्ता औषधीहरु खरिदका लागि आवश्यक परिमाण निर्धारण र बजार मूल्य बुझेर दातृ निकायमा पठाउने काम भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत भदौ महिनाको १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले निःशुल्क वितरण गर्दै आएका ४० वटा औषधीमा ३० वटा औषधी थप्ने निर्णय गरेको थियो।

दीर्घ रोगीहरुका लागि आवश्यक पर्ने यस्ता औषधी निःशुल्क दिने भन्ने थाहा पाएका बिरामीहरुले हालसम्म सरकारी स्वास्थ केन्द्रबाट त्यस्ता औषधी पाउन सकेका छैनन्।

गुनासो

थप गरेको औषधी आएको छैन् भन्ने जवाफ दिंदा दिंदै हैरान भएको सवास्थ्यकर्मीहरु गुनासो गर्छन्।

यस्तै मध्येका एक हुन् रौतहटको गौडा स्वास्थ्यचौकीका अहेव नन्दकिशोर यादव।

उनले भने, “बिरामीहरु आएर सरकारले औषधी थपेको छ, दिनुहोस् भन्छन्, हामीसम्म पुगेको छैन्, हामीले कसरी दिने, जिल्लामा पनि आएको छैन् भन्छन्।”

२५ शय्यासम्मको जिल्ला अस्पताल र त्यसभन्दा तलका प्राथमिक स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमार्फत वितरण गर्ने भनिएका ती औषधीहरु खरिदकै प्रक्रियामा रहेको स्वास्थ्य सेवा विभाग पूनर्जागरण महाशाखाका निर्देशक डाक्टर रमेश कुमार खरेलको भनाई छ।

वितरण

कागजी रुपमा गर्नुपर्ने कामहरु सकेर दातृ संस्था विश्व बैंकलाई पठाउने तयारीमा पुगेको र हालका लागि जिल्ला र क्षेत्रबाट पनि खरिदको व्यवस्था गरीएको उनले बताए।

उनले भने, “ठाँउ हेरेर ती औषधीहरु हालको पैसाले पुग्छ भने जिल्लाले पनि किनेर वितरण गर्दा हुन्छ भनेर पत्राचार गरेका छौंं र यताको औषधी पनि प्रक्रिया पुरा गरेर आएपछि पठाउछौं।”

निःशुल्क उपलब्ध गराउने भनिएका औषधीहरुमा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या जस्ता नसर्ने रोगका औषधी र विभिन्न प्रकारका एन्टीबायोटिक समेत रहेका छन्।

पुरानै बजेटबाट थप औषधीहरु पनि व्यवस्थापन गर्नु परेकाले केही समस्या देखिएको र त्यो पूर्णरुपमा अन्त्य हुन अर्को आर्थिक वर्ष लाग्ने सरकारी अधिकारीहरुको भनाई छ।