'सहमतिको जिम्मा फेरि शीर्ष नेतालाई'

  • 28 डिसेम्बर 2014
Image caption कार्यदलले शीर्ष नेताहरुलाई सहमति जुटाउन जिम्मा दिएपछि सोमबार विहान ८ बजे पुन: बालुवाटारमा बैठक बस्ने भएको छ।

संविधानका अन्तर्वस्तुमा सहमति खोज्ने जिम्मा पाएको कार्यदलले उक्त विषय शीर्ष नेताहरुकै तहबाट टुंगो लगाउनुपर्ने सुझावसहित जिम्मेवारी पुन: शीर्ष नेताहरुलाई नै फर्काएको छ।

कार्यदलले आफूहरुबीच दुईदिनसम्म गम्भीर छलफल भए पनि समग्रमा सहमति जुटाउन नसकेकोले उक्त विषयलाई शीर्ष नेताहरुकै तहमा छलफल हुनुपर्ने सुझाव आइतबार साँझ शीर्ष नेतासमेतसहभागी बैठकमा दिएको थियो।

कार्यदलको उक्त सुझावपछि शीर्ष नेताहरुको बैठक सोमबार बिहान ८ बजे बस्ने बताइएको छ।

संविधानका विवादित विषयहरुमा सहमति जुटाउन दलहरुबीच पटकपटक बसेका बैठकहरु एकपछि अर्को निष्कर्षविहीन हुन थालेपछि गत बिहीबार दलहरुले कार्यदललाई दुइदिनभित्र सहमतिसहितको प्रतिवेदन बुझाउन जिम्मा दिएको थियो।

विफल

नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र तराइकेन्द्रीत दलहरुको तर्फबाट एकएकजना प्रतिनिधि सम्मिलित ४ सदस्यीय उक्त कार्यदलले संविधानका अन्तर्वस्तुहरुमा सहमति जुटाउन नसकेपछि विवादको टुंगो शीर्ष तहबाटै हुनुपर्ने मौखिक सुझाव, तोकिएको अवधिभन्दा एक दिन ढिलो, आइतबार दिएको छ।

उक्त सुझावबारे सांझको बैठकमा सहभागी एकिकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई भने, "अब निकासको लागि नजिक आएको जस्तो भएको छ, तर हामीबाट भन्दा शीर्ष नेताहरुबाटै टुँगो लगाउनुपर्छ। त्यसका लागि एकएक पक्षीय वा ४ पक्षीय बसेर टुंगो लगाउन सकिने आशा पलाएको उहाँहरुले बताउनुभएको छ।"

दुई दिनसम्मको छलफल कार्यदलका सदस्यहरुबीच प्रकृयाबारे भन्दा पनि विवादित विषयमा सहमतिकै खोजिमा केन्द्रीत भएको सहभागी नेताहरुले बताएका छन्।

सुझाव

मुख्य विवादित विषयहरु संघीयता, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा सहमति जुट्न नसकेको कार्यदलमा सहभागी नेकपा एमालेका नेता भीम रावलले बताए।

उनले भने, "हामीले एउटा विषयमा टुंगो लगाएर अर्को छोड्ने गरि नभइ आरम्भमा नै समग्रतामा सहमति खोज्ने बताएका थियौं। त्यो हाम्रो तहबाट सम्भव नभएपछि हामीले शीर्ष नेताहरुलाई सहमति खोज्न सुझाव दियौं।"

यसरी विवादित विषयमा सहमति जुटाउन शीर्ष नेताहरुबाट कार्यदल, कार्यदलबाट शीर्ष तहमै जिम्मेवारी फर्किने यो क्रमलाई माघ ८ को निर्धारित मितिमा संविधान जारी गर्ने सम्भावना झन् टर्दै गएको रुपमा कतिपयले अर्थ्याएका छन्।