आगलागीमा परेको जहाजका सयौं यात्रुको उद्धार

  • 29 डिसेम्बर 2014
तस्वीर कपीराइट AFP

इटलीका तटरक्षकहरुले एड्रियाटिक सागरमा आगलागी भएको एउटा जहाजमा रहेका चारसयभन्दा बढी यात्रुहरुलाई उद्धार गरिएको जनाएका छन्।

इटलीका प्रधानमन्त्री माटेओ रेन्जीले उक्त जहाजबाट चार सय सात जना यात्रुहरुको उद्धार गरिएको पुष्टि गरेका छन्।

प्रधानमन्त्री रेन्जीले उद्धारकर्ताहरुको प्रशंसा गर्दै तिनीहरुको परिश्रमका कारण समुद्रमा ठूलो हताहति हुनबाट जोगिएको बताए।

आगलागीको उक्त घटनामा सात जनाको ज्यान गएको थाहा भएको छ।

चर्को हावाहुरी र ठूलो समुद्री छालका माझ हेलिकप्टरहरुले जहाजमा फसेका मानिसहरुलाई सुरक्षित ठाउंमा ओसारेका थिए भने जहाजको तल्लो तलामा अग्नि नियन्त्रकहरुले आगो निभाउन निकै मेहनत गरेका थिए।

तस्वीर कपीराइट AP

कोर्फु टापु नजीकै आगलागी भएको नोर्मन एटलान्टिक क नामको उक्त जहाजमा रहेका यात्रुहरुलाई लामो र जटिल उद्धार कार्यबाट सकुशल अन्यत्र सारिएको अधिकारीहरुले बताए।

आगलागी

ग्रीसको पात्रास शहरबाट इटलीको एन्कोना शहर तर्फको यात्रामा रहेको उक्त जहाजमा आइतबार बिहान कसरी आगलागी शुरु भयो भन्ने अझै यकीन भैसकेको छैन।

सोमबार इटलीका सरकारी वकिलहरुले उक्त आगलागीको घटनाबारे फौजदारी छानबिन आरम्भ गरिएको बताएका छन्।

त्यसमा मानवीय लापरवाही जिम्मेवार रहे नरहेको पत्ता लगाउने प्रयास गरिने भनिएको छ।

सोमबार बिहान मात्र उक्त जहाजबाट उद्धार गरिएका ४९ जना यात्रुहरु सहितको पहिलो उद्धार जहाज इटलीको बारी बन्दरगाहमा आइपुगेको थियो।

उद्धार

अंध्यारोमा पनि देख्‍न सकिने नाइटभिजन उपकरणहरु जडित हेलिकप्टरहरुले रातभरी काम गरेर संकटमा परेका यात्रुहरुको उद्धारमा खटिएका थिए।

तस्वीर कपीराइट AP

इटलीका तटरक्षकहरुले रातभरीमा एकसयजना यात्रुहरुको उद्धार गर्न सकिएको बताए।

उद्धार गरिएका धेरैजसो यात्रुहरुलाई नजीकैका अन्य जहाजहरुमा लगिएको थियो भने केहीलाई सोझै अस्पताल पु-याइएको थियो।

उक्त जहाजमा सवार धेरै जसो यात्रुहरु ग्रीक थिए।

एकजना ग्रीक अधिकारीले एपी समाचार एजेन्सीलाई बताए अनुसार उक्त नोर्मन एटलान्टिक जहाजमा २३४ जना यात्रु र ३४ जना कर्मचारी ग्रीक थिए।

अन्य यात्रु इटली, टर्की, अल्बेनिया, जर्मनी र अरु देशका थिए।