अमेरिकी सेनाद्वारा सोमालियामा हवाई आक्रमण

  • 30 डिसेम्बर 2014
Image caption हवाई आक्रमणको नतिजाबारे विवरणहरु पछि सार्वजनिक गरिने अधिकारीहरुले बताएका छन्

अमेरिकी सेनाले अल कायदा सम्बद्ध अल शबाब विद्रोही समूहलाई लक्षित गर्दै दक्षिणी सोमालियामा हवाई आक्रमण गरेको जनाएको छ।

आक्रमणको सफलताबारे समीक्षा भईरहेको अमेरिकी सेनाको भनाई छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अल शबाब समूहका एकजना वरिष्ठ नेताहलाई लक्षित गरी हवाई आक्रमण गरिएको हो।

आक्रमणमा लक्षित गरिएका नेताको परिचय खुलाईएको छैन् र हवाई आक्रमणको नतिजाबारे पनि थप केही उल्लेख गरिएको छैन्।

आक्रमण

एकजना रक्षा अधिकारीले दक्षिणी सोमालियामा आक्रमण गरिएको बताए।

उनले आक्रमणबाट सर्वसाधारण वा वरपरका अरु कोही नमारिएको जनाए।

सन् २०११ देखि मोगादिसुबाट अल शबाब विद्रोहीलाई धपाएको अफ्रिकी युनियनलाई अमेरिकी सेनाले सघाएको छ।

केही दिनअघि अल शबाबका एकजना वरिष्ठ नेता जकारिया इस्माइल हर्सीलाई केन्यासंगको सीमाबाट नियन्त्रणमा लिईएको थियो।

तस्वीर कपीराइट
Image caption अल शबाबविरुद्ध अफ्रिकी युनियनको सेनाले कारवाही गर्दै आएको बताईन्छ

उनी आफैले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताईएको छ।

सम्बद्ध

सन् २०१२ को जुन महिनामा अमेरिकी विदेश मन्त्रालयले हर्सीबारे जानकारी दिनेलाई ३० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

गत सेप्टेम्बरमा अमेरिकी हवाई आक्रमणमा अल शबाबका नेता अहमद अब्दी गोदाने मारिएका थिए।

अल शबाब विद्रोही समूह, अल कायदासंग सम्बद्ध छ।

अफ्रिकी युनियनको समर्थन रहेको मोगाडिसु सरकारलाई हटाएर अल शबाबले मोगादिसुमा इस्लामिक सरकार गठन गर्न चाहेको बताईन्छ।