चीनसँग चिनिया मुद्रामा कारोबार

  • 31 डिसेम्बर 2014
तस्वीर कपीराइट BBC Sanjaya Dhaka
Image caption द्वीपक्षीय व्यापरमा उल्लेख्य बृद्धि हुन सक्ने गभर्नर युवराज खतिवडाले बताए

चीनको केन्द्रिय बैंकसंग हालै गरिएको एक सम्झौताका कारण उत्तरी छिमेकीसंगको व्यापार, लगानी र पर्यटकीय कारोबारमा उल्लेखनीय वृद्धि हुने बताइएको छ।

उक्त सम्झौता अन्तर्गत आइन्दा नेपाल र चीन बीच सोझै चिनियाँ मुद्रामा व्यापार गर्न सकिनेछ।

गत साता पिपल्स बैंक अफ चाइना र राष्ट्र बैंकबीच चीनमा हस्ताक्षर भएको दुई पक्षीय हिसाब मिलान र सहयोग सम्बन्धी पूरक सम्झौताले द्वीपक्षीय व्यापार चिनियाँ मुद्रामा गर्न सकिने बनाएको राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा बताउँछन्।

उनी भन्छन्, "अब नेपाल र चीनबीच व्यापार गर्न हामीलाई डलर चाहिंदैन। सोझै तपाईंले चिनियाँ मुद्रामा गर्न पाउनुहुन्छ। यसले गर्दा डलरसंग जोडिएको विनिमय दरको जोखिम अनि लागतका कुराहरु कम हुँदै जान्छन्। फलस्वरुप नेपाल र चीनको द्विपक्षीय व्यापार र लगानी अनि पर्यटनसम्बन्धी कारोबारमा उल्लेख्य वृद्धि हुन्छ।"

सो सम्झौताले नेपाली बैंकहरुलाई चीनको जुनसुकै बैंकमा चिनियाँ मुद्रामा खाता खोल्न अनुमति दिन्छ।

यसले चीनबाट आयातको भुक्तानी गर्न तथा व्यापारिक प्रयोजनका लागि युआनमा प्रतीतपत्र खोल्न र अन्य कारोबार सहज बनाउन मद्दत पुग्ने राष्ट्र बैंकको भनाई छ।

त्यस बाहेक नेपालमै पनि चिनियाँ मुद्रामा खाता खोल्न पाउने व्यवस्था गरिएको गभर्नर खतिवडाले बताए।

Image caption चिनिया पर्यटक त बढेकै थिए अब चिनिया मुद्रामै कारोबार हुने भएपछि थप बढ्न सक्छन्

उनी भन्छन्, "अब चिनियाँ मुद्रा नभएकै कारणले अवैध बाटोबाट व्यापार गर्नेहरु अथवा अप्ठेरो महशुश गरेकाहरुलाई यसले त्यसो गर्न नपर्ने बनाउँछ। समग्रमा चीन हाम्रो दोस्रो ठूलो आर्थिक सम्बन्ध भएको मुलुक हो। त्यो मुलुकको मुद्रासंग सहज भुक्तानी र समासोधन वा सेटलमेन्टको काम होस् भन्ने हाम्रो उद्देश्य हो।"

आफ्नो दक्षिणी छिमेकी र सबभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भारतसंग भारुमा कारोबार गरिरहेको नेपालले अब त्यस्तै किसिमको सुविधा आफ्नो उत्तरी छिमेकी र दोस्रो सबभन्दा ठूलो व्यापारिक साझेदार चीनसंगपनि गर्ने ढोका खोलेको देखिन्छ।

दुवै छिमेकीसंग नेपालको ठूलो व्यापार घाटा छ।