पानीजहाजबाट ९ सय आप्रवासीको उद्धार

  • 31 डिसेम्बर 2014
blueskyship तस्वीर कपीराइट AFP
Image caption यो जहाजमा सवार आप्रवासीहरुले मानव तस्करहरुलाई हजारौं डलर तिरेको बताइएको छ

किनारामा ठोक्किने दिशामा रहेको एउटा पानीजहाजबाट ९ सय जनाभन्दा बढी मानिसहरुलाई आफूहरुले उद्धार गरेको इटलीका अधिकारीहरुले बताएका छन्।

मानव तस्कर ठानिएका चालक दलका सदस्यले उक्त जहाजलाई आफै चल्ने अटो पाइलट विधिमा राखेर छाडेर गएको जनाइएको छ।

उद्धार गरिएकाहरुमध्ये अधिकांश सिरियाली शरणार्थीहरु भएको अधिकारीहरुले बताएका छन्।

अलपत्र

ब्लु स्काइ एम नामक उक्त पानीजहाज ग्रीसको समुद्री क्षेत्रमा अलपत्र अवस्थामा भेटिएको थियो।

इटलीका तटरक्षकहरुले त्यसलाई नियन्त्रणमा ल्याइ इटलीकै ग्यालिपोली बन्दरगाहमा सुरक्षित रुपमा पु-याएका थिए।

जहाजमा चार जनाको शव भेटिएको जनाइएको छ।

जहाजमा धेरैजसो सिरियाली र कुर्द आप्रवासीहरु रहेको अधिकारीहरुले बताएका छन्।

तीमध्ये ३५ जनाको शरीरको तापक्रम निकै घटेको पाइएपछि उनीहरुलाई अस्पताल लगिएको इटलीस्थित रेडक्रसले जनाएको छ।

समस्या

इटलीले पछिल्लो घटनामा जस्तै आप्रवासीहरुको बढ्दो संख्यासंग जुध्नु परिरहेको छ।

बीबीसी संवाददाता जेम्स् रेनोल्ड्स् भन्छन्, “त्यो जहाजमा रहेका आप्रवासीहरुले मध्यपूर्वबाट युरोप छिर्नका लागि मानव तस्करहरुलाई हजारौं डलर तिरेका थिए”।

मध्यपूर्वका अतिरिक्त हर्न अफ अफ्रिका भनिने उत्तरपश्चिम अफ्रिकास्थित प्रायद्वीपबाट पनि आप्रवासीहरुले युरोप प्रवेश गर्न पाउने आशामा डुंगा चढ्ने गरेका छन्।

यसरी युरोप छिर्न सबैभन्दा बढी लिबियाको मार्गबाट डुंगाहरु प्रवेश गर्ने गर्छन्।

तर मोल्दोभाको झण्डासहितको पछिल्लो जहाज चाहि टर्कीबाट आएको बताइएको छ।

त्यसमाथि आप्रवासीहरु त्यति ठूलो संख्यामा भेटिनु असामान्य भएको ठानिएको छ।

गैरकानुनी प्रवेशमा सघाउने मानव तस्करहरु भने गिरफ्तारीबाट जोगिन जहाज समुद्रमै छाडेर जाने गर्छन्।