प्यालेस्टाइनसम्बन्धी संकल्प प्रस्ताव अस्वीकृत

  • 31 डिसेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption संकल्प प्रस्तावमा पूर्वी जेरुसेलमलाई भावी प्यालेस्टिनी राज्यको राजधानी बनाउनुपर्ने भनिएको छ

तीन वर्षभित्र प्यालेस्टिनी भूभागमाथि इजरेली नियन्त्रण अन्त्य गर्नुपर्नेसम्बन्धी जोर्डनद्वारा पेश गरिएको एउटा संकल्प प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अस्वीकार गरिदिएको छ।

सुरक्षा परिषदमा भएको मतदानमा पर्याप्त मत ल्याउन उक्त प्रस्ताव विफल रह्यो।

विभिन्न अरब मुलुकहरुको समर्थनमा जोर्डनले उक्त संकल्प प्रस्ताव सुरक्षा परिषदमा मतदानका निम्ति प्रस्तुत गरेको थियो।

सो प्रस्तावमा स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापनाको समयसीमा तोकिएको थियो।

अनुमोदन

तर उक्त प्रस्तावले अनुमोदनका लागि आवश्यक ९ मत पाउन सकेन।

संकल्प प्रस्तावको पक्षमा ८ मत र विपक्षमा २ मत खसेका थिए।

ब्रिटेनसहित ५ वटा मुलुकहरु मतदान प्रक्रियामा सहभागी भएनन्।

फ्रान्स, चीन र रुस लगायतका मुलुकहरुले संकल्प प्रस्तावको पक्षमा मतदान गरेका थिए।

तस्वीर कपीराइट AP
Image caption मतपरिणामबाट संवाद गर्न पाठ सिक्नुपर्ने जोर्डनकी राजदुत दिना कवारले बताएकी छन्

अमेरिका र अष्ट्रेलियाले भने संकल्प प्रस्तावको विपक्षमा मतदान गरे।

समयसीमा

इजरेलको नजिकको साझेदार मानिने अमेरिकाले उक्त संकल्प प्रस्ताव इजरेली सुरक्षाका निम्ति खतरा भएकोले त्यसको विपक्षमा उभिएको तर्क गरेको छ।

उसले निश्चित समयसीमा तोकेर नभई संवादमार्फत सहमति खोज्नुपर्ने जनाएको छ।

तर केही अरब मुलुकहरुले अब संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति वार्ता हुनुपर्ने चाहेका छन्।

अमेरिकी नेतृत्वको वार्ता, नतिजा निकाल्न विफल भएको उनीहरुको निष्कर्ष छ।

उक्त क्षेत्रमा जारी हिंसाबीच समाधान निस्किन कठिन रहेको बताईन्छ।