भेरी-बबई सिँचाइ आयोजना अन्योलमा

  • 1 जनवरी 2015
Image caption डाइभर्सन आयोजना अन्तर्गत भेरी नदिको पानीलाई सुर्खेतबाट सुरुङ मार्गमार्फत बबई नदिमा मिसाउने योजना छ

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सन सिँचाइ आयोजना यो वर्ष फेरि अर्को विवादमा मुछिएपछि अन्योलमा परेको छ।

दुई वर्षमा दुई पटक गरिएका बोलपत्र आह्वान प्राविधिक कारणले स्थगित भएको उक्त आयोजना यो पटक भने बोलपत्रमा अनुभवहीन निर्माण कम्पनीलाई छानेको भन्ने उजुरी परेपछि विवादमा तानिएको छ।

सो आयोजनाले ५१ हजार हेक्टर क्षेत्रफलको जमिनमा सिँचाइ पुर्याउने र ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।

भेरी नदिको पानीलाई सुर्खेतबाट सुरुङ मार्गमार्फत बबई नदिमा मिसाउने र त्यसबाट बर्दिया र बाँकेमा सिँचाइ गर्ने र बिजुली उत्पादन गर्ने बहुउद्देश्यीय उक्त आयोजनामा १२ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ।

विरोध

नेपालमै पहिलो पटक टनेल बोरिङ मेशिनको प्रयोग गरेर उक्त सिँचाइ आयोजना बनाउन लागिएको हो।

विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) बनाउने काम चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीलाई दिईएको भन्दै अहिले विरोध भएको छ।

कम रकममा बोलपत्र हालेर उसले आयोजना लिएको र उक्त निर्माण कम्पनीसंग टीबीएम प्रविधिमा काम गरेको अनुभव नभएकाले आयोजना निर्माणको काम शुरु हुन नसक्ने भन्दै उजुरी नै परेको छ।

सुरुङ निर्माणमै समस्या भोगेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भटराई भन्छन्, “टनेल निर्माण कार्यमा उक्त कम्पनीको प्रस्ताव हामो आवश्यकता सुहाउँदो नभएकाले हामीले अस्वीकार गरेका थियौं।”

बोलपत्र

तर दुई वर्ष पहिले नै काम शुरु गर्नुपर्ने आयोजनाको यो पछिल्लो निर्णय नियम अनुरुप नै भएको र उक्त निर्माण कम्पनीले काम गर्न सक्ने सिँचाइ विभागका महानिर्देशक माधव बेलवासे बताउँछन्।

उनले भने, “पहिले कसैले विरोध नल्याउने अब न्युनतम मुल्याङ्कनको बोलपत्र हुँदा-हुँदै हामी अरुमा जान सक्ने स्थिति हुँदैन। उ सबै योग्यता पार गरेर आएको कम्पनी हो।”

सम्झौता भईसकेपछि पनि निर्माणको काम शुरु हुन एक वर्ष नै कुर्नुपर्ने उनको भनाई छ।

टनेल बोरिङ मेशिन बनाउन नै एक वर्ष लाग्ने र त्यसबीच अवधिमा पूर्वाधार निर्माण र कार्यालय व्यवस्थापनको काम गर्ने बताईएको छ।