भग्नावशेष खोजीमा फ्रेन्च विशेषज्ञ टोली

  • 2 जनवरी 2015
Image caption खराब मौसमका बावजुद खोजी कार्यलाई निरन्तरता दिईएको बताईएको छ

एयरबस दुर्घटनाबारे अनुसन्धान गर्ने फ्रेन्च निकाय बीईएले हराईरहेको एयर एसियाको विमानको भग्नावशेषको खोजीका निम्ति विशेषज्ञहरुको एउटा टोली ‍जाकार्ता पठाउन लागेको बताएको छ।

उक्त टोली शुक्रबार इण्डोनेसियाको राजधानी जाकार्ता पुग्ने अधिकारीहरुले बताएका छन्।

विशेषज्ञहरुको टोलीले एयर एसियाको विमानको फ्लाइट रेकर्डबाट संकेतहरु खोज्ने प्रयास गर्नेछ।

उक्त निकायले एयरबस दुर्घटनाबारे अनुसन्धान गर्दछ।

भग्नावशेष

गत आईतबार मलेसियाको सुराबायाबाट सिंगापुरका लागि उडेको एयर एसियाको यात्रुवाहक विमान जाभा समुद्र क्षेत्रमा प्रवेश गरेपछि सम्पर्कविहीन भएको थियो।

विमानमा चालक दलका सदस्यसहित १ सय ६२ जना सवार थिए।

खराब मौसमका माझ यात्रुहरुको शव र विमानको भग्नावशेष खोज्ने कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।

यसैबीच शव भेटिएका यात्रुहरुमध्ये एक जनाको इण्डोनेसियामा अन्त्येष्टि गरिएको छ।

तस्वीर कपीराइट Getty Images News
Image caption शव भेटिएको एकजना यात्रुको बिहिबार सुराबायामा अन्त्येष्टि गरिएको छ

परिवारका सदस्य र साथीहरुको उपस्थितिमा इस्लामिक परम्परा अनुसार ४९ वर्षीया हयाती लुट्फिआह हमिदको सुराबाया सहरमा अत्येष्टि गरिएको हो।

जीवित

अधिकारीहरुका अनुसार औठाको छापबाट उनको शवको पहिचान गरिएको थियो।

शव पहिचान गरिएपछि परिवारका सदस्यलाई जिम्मा लगाईएको थियो।

हमिदका एकजना आफन्तले आफ्नो परिवारका थप तीन सदस्यको अवस्था थाहा हुन नसकेकोले आफूहरु निकै चिन्तित रहेको समाचार संस्था एएफपीलाई बताए।

बिहिबार थप दुईवटा शव भेटिएपछि अहिलेसम्म फेला परेका शवको संख्या ९ पुगेको छ।

विमानका यात्रुहरुमध्ये अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन् र दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन्।