एयर एसियाको भग्नावशेष खोजी जारी

  • 3 जनवरी 2015
तस्वीर कपीराइट AP
Image caption हराइरहेका १ सय ६२ मध्ये अहिलेसम्म ३० जनाको शव भेटिएको छ भने बाँकीको खोजी कार्य जारी राखिएको छ।

इण्डोनेसियाका अधिकारीहरुले भनेका छन् दुर्घटनाग्रस्त एयर एसियाको भग्नावशेष खोजिरहेका टोलीहरुले जाभा समुद्रको भित्री भागमा चारवटा ठूला वस्तु फेला पारेका छन्।

पानी मुनि प्रवेश गर्न सक्ने साधनको सहायताले उनीहरुले ती वस्तुलाई नजिकबाट नियालेको बताइएको छ।

१ सय ६२ जना सवार एयर एसियाको विमान इण्डोनेसियाबाट सिंगापुरको उडानका क्रममा बीचबाटै हराएको थियो।

खोजी दलका सदस्यहरुले अहिले आफ्नो ध्यान ती चारवटा वस्तु भेटिएको स्थान दक्षिणी बोर्नियोको समुद्र मुनिको क्षेत्रमा केन्द्रित गरिरहेका छन्।

अस्पष्ट

तर अहिलेसम्म ती वस्तु दुर्घटनाग्रस्त एयर एसियाको विमानको भए नभएको अझै प्रष्ट हुन सकेको छैन।

खोजीस्थलको क्षेत्रमा रहेका बीबीसीका रुपर्ट विंगफिल्ड हेइज भन्छन्, "इण्डोनेसियाली सरकारले पानीमुनि चार वटा ठूला वस्तु भेटेको जनाएको छ। जसमध्ये दुईवटा लगभग ५० वर्गमिटरका छन्। तर खराब मौसमका कारण गोताखोर तथा पानीमुनि पठाउन सक्ने साधन प्रयोग गर्न सकिएको छैन। मौसममा सुधार नभइञ्जेल ती वस्तुहरु दुर्घटनाग्रस्त विमानका हुन् वा होइनन् तथा त्यसमा ब्ल्याक बक्स छ वा छैन भन्ने यकीन गर्न सकिने छैन।"

खोजी कार्यमा सघाउन रुसी गोताखोरहरु पंगकालानबुन हवाइ अड्डामा पुगेका छन्।

सहयोगी

अन्तर्राष्ट्रय रुपमा एक्लिएका बेला रुसले आफ्ना २२ जना विशेषज्ञ गोताखोरहरुलाई पठाएर आफूलाई एउटा सहयोगी मुलुकका रुपमा उभ्याउन खोजेको ठानिएको छ।

हालसम्म खोजीकार्यबाट ३० जना मानिसहरुको शव प्राप्त भएको छ।

कोही पनि जीवित फेला पर्न सकेका छैनन्।

साथै उक्त विमानको मुख्य भागहरु अहिलेसम्म प्राप्त हुन सकेका छैनन्।

इण्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि उडेको केही समयमै १६२ जना सवार उक्त विमान गत आइतबार सम्पर्कविहीन भएको थियो।