न्यायाधीश बम हत्याका चार आरोपी पक्राउ

  • 3 जनवरी 2015
तस्वीर कपीराइट Nepal Police
Image caption प्रहरी महानिरीक्षकले हत्याको अनुसन्धान गरी मुख्य अभियुक्तलाई पक्राउ गरिएको बताएका छन्

सर्वोच्च अदालतका एक जना बहालवाला न्यायाधीशको हत्या भएको साढे दुई वर्षभन्दा लामो समयपछि प्रहरीले त्यसमा संलग्न भनिएका पाँच मध्ये चार जना आरोपीलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

चुरे भावर एकता पार्टीको अध्यक्षमा आफूलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश जारी गरी आफू प्रतिकूल फैसला गरेको निहुँमा उक्त दलका नेता बाबु थापासहितका व्यक्तिको संलग्नतामा न्यायाधीशको हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने चारजनाविरुद्ध आइतबार नै जिल्ला अदालतमा मुद्दा दर्ता हुने बताइएको छ।

बंगलामुखि मन्दिरमा दर्शन गरेर फर्कने क्रममा विक्रम सम्वत २०६९ जेठ १८ गते दिनदहाडै ललितपुर जिल्लाको राष्ट्रसंघीय पार्क नजिकै न्यायाधीश रणबहादुर बमको हत्या भएको थियो।

योजना

उक्त बहुचर्चित हत्या प्रकरणमा संलग्न भएको अभियोगमा चुरे भावर पार्टीका नेता बाबु थापासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने, "नेपाल प्रहरीले विगतका दशकमा गरेका अनुसन्धानहरु मध्ये सबैभन्दा ठूलो व्यक्तिको हत्या भएको घटना थियो र त्यसमा मुख्य अभियुक्त बाबु थापासहित चारजनालाई पक्राउ गर्न सफल भएका छौं।"

तत्कालिन चुरे भावर एकता पार्टीको अध्यक्ष विवादमा न्यायाधीश बमले निर्वाचन आयोगले बाबु थापालाई पार्टी अध्यक्षको आधिकारिकता दिएको निर्णयमा अन्तरिम आदेश जारी गरेका थिए।

उक्त आदेशले आफू गृह राज्य मन्त्री हुने माहोल विगारेको र तीन वर्षसम्म आफू राजनीतिक भूमिकाविहीन भएको भन्दै थापाले अपहरण तथा शरीर बन्धक मुद्दामा २०६७ सालमा थुनामा रहँदा अर्का अभियुक्त शिव भन्ने करण चौधरीसँग मिलेर हत्याको योजना बनाएको प्रहरीले बताएको छ।

अनुसन्धान

महानिरीक्षक अर्यालले भने, "बाबु थापाले जेलमै भेट भएर योजना बनाएको र ती सबै व्यक्तिको आपराधिक पृष्ठभूमि भएको प्रारम्भिक जानकारी आएको छ। तर यसको आधिकारिक जानकारी लिन चाहिँ हामीलाई केही समय लाग्छ।"

प्रहरीले थापा र चौधरीका अतिरिक्त नविन भन्ने प्रेमराज खड्का र दिपक कर्णलाई शुक्रबार साँझ जनकपुर अञ्चलका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो।

त्यसबाहेक गोली हान्नमा संलग्न भनिएका भगवान थापा भने अहिले साउदी अरबमा रहेको प्रहरीले जनाएको छ।

उक्त हत्या प्रकरणमा आरोपीहरुलाई पक्रनुअघि प्रहरीले करीब दुई लाख मोबाइल सन्देशहरु तथा हजारौं टेलिफोन कलहरुको निगरानी गरेको बताइएको छ।