सोनी आक्रमण: उत्तर कोरियामाथि नाकाबन्दी

  • 3 जनवरी 2015
तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति बराक ओबामाले उत्तर कोरिया विरुद्ध थप नाकाबन्दी लगाएका छन्

संयुक्त राज्य अमेरिकाले सोनी पीक्चर्स इन्टरटेनमेन्ट नामको कम्पनी विरुद्ध गरिएको साइबर आक्रमणको जवाफमा उत्तर कोरिया विरुद्ध नयाँ नाकाबन्दी लगाएको छ।

राष्ट्रपति बराक ओबामाले शुक्रबार तीनवटा उत्तर कोरियाली संस्था र दश जना विरुद्ध कारवाही गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउसले भनेको छ, "यो उत्तर कोरियाको उत्तेजक, अस्थीरतावादी र दमनकारी कारवाहीको जवाफ हो।"

उत्तर कोरियाको आणविक कार्यक्रमका कारण उत्तर कोरियामाथि लगाइएको अमेरिकी नाकाबन्दी कायमै छ।

'थप कारवाही'

तर कुनै अमेरिकी कम्पनीमाथि साइबर आक्रमण हुँदा नाकाबन्दी लगाइएको यो पहिलोपटक हो।

वाशिङटनस्थित बीबीसी संवाददाता रजनी विद्यानाथन् भन्छिन् - "व्यंगात्मक सिनेमा 'द इन्टरभ्यू पछि वाशिङटन र प्योङयाङबीचको तनावपूर्ण सम्बन्ध थप विग्रिन पुग्यो। राष्ट्रपति ओबामाले नयाँ नाकाबन्दीलाई पहिलो चरण भनेकाले थप कारवाही आउन सक्छ।"

तस्वीर कपीराइट AP
Image caption व्यंग्यप्रधान चलचित्र द इन्टरभ्यू पछि वाशिङटन र प्योङयाङको सम्बन्ध थप तनावपूर्ण बनेको छ

नाकाबन्दी तीनवटक कम्पनी र दशजना व्यक्ति विरुद्ध लगाइएको छ।

उत्तर कोरियाको गुप्तचर निकाय, हातहतियार प्रदायक कम्पनी र रक्षा अन्सन्धानलाई सहयोग पुर्याउने संस्था सहित दशजना सरकारी अधिकारीमाथि नाकाबन्दी लगाइएको छ।

ह्वाइट हाउसका अधिकारीहरुले सन्चारकर्मीहरुलाई भने - सोनीमा गरिएको 'ह्याक' विरुद्ध कारवाही भएपनि नाकाबन्दी गरिएका पात्र या संस्था प्रत्यक्ष संलग्न थिएनन्।

मुख्य लक्ष

तैपनि दक्षिण कोरियाको सुरक्षा उद्योगलाई थप एक्लाउनु नाकाबन्दीको मुख्य लक्ष हो ताकी भविष्यमा साइबर आक्रमण नहोस।

एफबीआइ र राष्ट्रपति ओबामाले यस अघि नै उत्तर कोरिया साइबर आक्रमण गरेको विश्वास व्यक्त गरेका थिए। उत्तर कोरियाले ह्याकमा संलग्न भएको अस्वीकार गर्छ र केहि साइबर सुरक्षा विज्ञहरुले पनि त्यसमा शंका व्यक्त गर्छन्।

गार्डियन्स अफ पीस भन्ने समुहको नाममा सोनी कम्पनीका इमेल र व्यक्तिगत तथ्यांकहरु सार्वजनिक भएका थिए।

सोही समुहले द इन्टरभ्यू नामको व्यंग्यात्मक सिनेमा देखाउन चाहने सिनेमाघरहरुलाई धम्की दिएको थियो।