अमेरिकी प्रतिवन्धप्रति उत्तर कोरियाको चेतावनी

  • 4 जनवरी 2015
तस्वीर कपीराइट EPA
Image caption साइबर आक्रमणलाई लिएर अमेरिकाले कुनै देशलाई सजाय दिएको यो पहिलोपटक भएको ठानिएको छ।

उत्तर कोरियाले उसमाथि लगाइएका नयां अमेरिकी प्रतिबन्धहरु शत्रुतापूर्ण भएको भन्दै त्यो अमेरिकाकालागि नै प्रत्यूत्पादक हुने चेतावनी दिएको छ।

उक्त मुलुकको विदेश मन्त्रालयका एकजना प्रवक्ताले पछिल्लो प्रतिवन्धले उत्तर कोरियाको सैन्य अडानलाई थप मजबुत पारेको बताए।

अमेरिकी राष्ट्रपति बराक ओबामाले सोनी पिक्चर्समाथि हालै भएको साइबर आक्रमणमा उत्तर कोरिया संलग्न रहेको भन्दै शुक्रबार उसमाथि नयां प्रतिबन्धहरुको घोषणा गरेका थिए।

उत्तर कोरियाली नेता किम जोंग उनको काल्पनिक हत्या षड्यन्त्रसम्बन्धी हास्यप्रधान चलचित्र बनाउने सोनी पिक्चर्सप्रति क्रुद्ध प्योंगयांगले साइबर आक्रमणमा भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

आक्रोश

नयां प्रतिवन्धहरुले उत्तर कोरियाको हतियार कार्यक्रमहरुसंग सम्बन्धित व्यक्ति तथा कम्पनी र सैन्य गुप्तचर निकायलाई लक्षित गरेका छन्।

आइतबार वक्त्वय निकालेरै उत्तर कोरियाले उक्त अमेरिकी कदमप्रति तीतो पोखेको छ।

बीबीसीका एसिया प्रशान्त क्षेत्रीय सम्पादक चार्ल्स् स्क्यानलन भन्छन्, "वक्तव्यमा भनिएको छ अमेरिकाले बढ्दो आलोचनाबाट जोगिनका लागि पछिल्लो प्रतिवन्धहरु लगाएको हो। प्रतिवन्धले झन आफ्नो सैन्य अडानलाई मजबुत बनाएको उत्तर कोरियाले जनाएको छ।"

उत्तर कोरियाले सैन्य अडान भन्दै गर्दा उसले आफ्नो परमाणु कार्यक्रमतर्फ संकेत गरेको ठानिएको छ।

तर विश्लेषकहरुले पछिल्लो अमेरिकी प्रतिवन्धपछि उत्तर कोरिया प्रतिरक्षा बजारमा थप एक्लिने ठानेका छन् ।