अर्को सैन्य अखडा बोको हराम नियन्त्रणमा

  • 5 जनवरी 2015
बोको हराम तस्वीर कपीराइट AP
Image caption विद्रोहीहरुले उत्तरपूर्वी नाइजेरियाको अन्तिम सरकारी उपस्थिति मानिएको बोगा शहरलाई कब्जामा लिइसकेका छन्

विद्रोहीहरुले उत्तरपूर्वी नाइजेरियाको अन्तिम सरकारी उपस्थिति मानिएको बोगा शहरलाई कब्जामा लिएपछि त्यस क्षेत्रका एक सिनेटरले पछिल्ला घटनाक्रमबाट आफू निरास भएको प्रतिक्रिया दिएका छन्।

सन् २०१३ मा सैनिकहरुको नरसंहार भएको बोगा शहर उत्तरी क्षेत्रको एउटामात्र स्थान हो, जहाँ सरकारको नियन्त्रण रहेको थियो।

सोही क्षेत्रमा नाइजेरिया, चाड र निजेरका सैनिकहरु रहेको अन्तर्राष्ट्रिय फौजहरुको अखडा थियो।

हालै त्यहाँबाट अन्तर्राष्ट्रिय फौजहरुले बोको हराम विद्रोहीलाई धपाएका थिए।

स्थिति

तर स्थिति अहिले बदलिएको छ।

उत्तरपूर्वी नाइजेरियाका सिनेटर माइना माजी लावनले शनिबार बोको हरामले आक्रमण गरे लगत्तै सरकारी फौजले आफ्नो अखडा छोडेको बताए।

“हामी यतिधेरै निराश छौं कि केही भन्नै सक्दैनौं,” उनले भने, “सरकारी फौज भागेको यो पहिलो घटना होइन। अरु स्थानमा पनि यस्तै भएको छ।”

उनले विद्रोही हमला हुने बित्तिकै सरकारी सेनाहरुले आफ्नो अखडाहरु छोड्ने गरेको भन्दै उनीहरुतर्फ केही न केही समस्या भएको बताए।

त्यस क्षेत्रबाट डुंगा चढेर छिमेकी चाड पुगेका स्थानीयबासीहरुले शहरमा आगो लगाईएको र कयौं मानिसहरु मारिएको बताए।

नियन्त्रण

बोको हरामले उत्तरपूर्वी नाइजेरियाको ठूलो हिस्सा आफ्नो नियन्त्रणमा लिईसकेको छ।

सीमाको वारिपारी हुने अपराध नियन्त्रणका निम्ति सन् १९९८ मा सो क्षेत्रमा अन्तर्राष्ट्रिय फौजहरुको अखडा खडा गरिएको थियो।

बीबीसीकी अफ्रिका विश्लेषक म्यारी हार्पर भन्छिन्, “बोको हराम लडाकूहरुले दैनिकजसो शहर तथा गाउँहरुमा आक्रमण गर्ने गरेका छन् र केटाकेटीहरुको अपहरण गर्ने गरेका छन्।”

सेनालाई पश्चिमा मुलुकहरुको विज्ञता र जासुसी सहयोग प्राप्त भएपनि उनीहरु बोको हरामको सामना गर्न असक्षम देखिएको हार्परको भनाई छ।