लेबनानमा सिरियाली शरणार्थी प्रवेशमा कडाइ

  • 5 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption यसअघि सिरियालीहरु ६ महिनासम्म लेबनानमा स्वत: बस्न पाउने नियम थियो

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले सिरियाको गृहयुद्धबाट भागेर लेबनानमा शरण लिने प्रयास गरिरहेका जोखिममा रहेका व्यक्तिहरुविरुद्ध लक्षित गरि ल्याइएको नयाँ अध्यागमन नियम प्रति चिन्ता व्यक्त गरेको छ।

शरणार्थीहरुको ठूलो जनसंख्यासँग जुध्नुपरेपछि लेबनानी अधिकारीहरुले सीमा पार गर्नुअघि त्यसको कारणसहितको कागजात प्रस्तुत गर्न सिरियालीहरुसँग भनिरहेका छन्।

सिरियाबाट लेबनानमा प्रवेश गर्नेहरु माथि नयाँ प्रतिबन्धहरु लागू भएपछि युद्धबाट उम्कन खोजी रहेका व्यक्तिहरुको चाप कम भएको छ।

विगतमा दुई देशवीचको आवतजावतमा खासै अवरोध थिएन, तर अब सिरियालीहरुले त्यसका लागि प्रवेशाज्ञा प्राप्त गर्नुपर्नेछ।

नियन्त्रण

लेबनानमा हाल झन्डै १० लाख भन्दा बढी सिरियाली शरणार्थीहरुको बसोबास छ र पछिल्लो कदम उनीहरुको थप आगमन नियन्त्रण गर्ने तर्फ लक्षित छ।

राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसिआरका एकजना प्रवक्ता रन रेडमन्डले पछिल्ला ६ देखि ८ महिनामा ल्याइएका नियमहरुका कारण लेबनानमा शरणार्थीहरुको दर्ता घटिरहेको बताए।

उनले सबैभन्दा बढी अप्ठेरोमा परेका सिरियालीहरुले पहुँच पाउन भनेर राष्ट्रसंघीय निकायले लेबानानी अधिकारीहरुसँग काम गरिरहेको बताए।

पछिल्ला लेबनानी घोषणामा सबैभन्दा जोखिममा परेका सिरियालीहरुलाई कसरी संरक्षण गर्ने भन्ने बारे केही उल्लेख नगरेको भन्दै राष्ट्रसंघीय अधिकारीले नयाँ व्यवस्थाले कसरी काम गर्छ भन्नेबारे आधिकारिक जानकारी दिनुपर्ने बताए।

समस्या

विद्रोही लडाकुहरुले राष्ट्रपति बसर अल असदलाई हटाउनकालागि गरिरहेको संघर्षका कारण लाखौँ सिरियालीहरु विस्थापित छन्।

यसबीचमा इस्लामवादी समूहहरुका गतिविधि बढेपछि शरणार्थी समस्या थप बढेको छ।

यसअघि सिरियालीहरु ६ महिनासम्म लेबनानमा स्वत: बस्न पाउने नियम थियो।

तर अब नयाँ व्यवस्थापछि सिरियाबाट लेबनानमा प्रवेश गर्न चाहने व्यक्तिहरुले सीमामा केही मापदण्ड पुरा गरेपछि मात्र प्रवेशाज्ञा पाउँछन्।

लेबनानमा प्रवेश गरिसकेका तर अझैसम्म शरणार्थीको मान्यता प्राप्त गरिनसकेका व्यक्तिहरुलाई पछिल्लो नियमले के प्रभाव पार्छ भन्नेबारे बताइएको छैन।