उड्डयन सुरक्षाका लागि नयाँ प्रस्ताव

  • 7 जनवरी 2015
तस्वीर कपीराइट Reuters
Image caption हराईरहेको एयर एसियाको विमानको खोजी अझै जारी छ

पूर्वी एसियामा समुद्रमा हराईरहेको एअर एसियाको विमानको खोजी जारी रहँदा संयुक्त राष्ट्रसंघीय उड्डयन निकायले व्यवसायिक उडानहरुका निम्ति नयाँ नियम प्रस्ताव गर्ने जनाएको छ।

उक्त प्रस्ताव अनुसार हरेक व्यवसायिक विमानले प्रत्येक १५ मिनेटमा आफ्नो उडानको स्थितिबारे जानकारी गराउनुपर्ने छ।

यसबाट विमानले तय गर्ने हवाईमार्ग र स्थितिबारेको जानकारी सहज हुने अपेक्षा गरिएको छ।

व्यवसायिक उडानहरुले प्रत्येक १५ मिनेटमा आफ्नो स्थितिबारे जानकारी गराउनुपर्ने भन्ने राष्ट्रसंघीय उड्डयन निकाय अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन अर्थात आईकाओको प्रस्तावित नियम हराईरहेको एअर एसियाको विमानको खोजी भइरहेको बेला आएको छ।

आशंका

२८ डिसेम्बरमा इन्डोनेसियाको सुराबायाबाट सिंगापुरको लागि उडेको यात्रुवाहक विमान जावा समुद्रमा हराईरहेको छ।

विमानमा सवार १६२ मानिसहरुमध्ये ३७ जनाको शव फेला परेको छ।

केही सीटहरु र टुक्राहरु फेला परेपनि विमानको ठूलो भाग पानीमुनि रहेको आशंका गरिएको छ।

खराब मौसमी अवस्थामाझ इन्डोनेसियाली अधिकारीहरुले अझै फराकिलो क्षेत्रमा खोजी गरिने बताएका छन्।

प्रविधि

त्यसअघि गत मार्चदेखि हराईरहेको मलेसियन एयरलाइन्सको विमान अझै भेटिएको छैन्।

संवाददाताहरु भन्छन्, राष्ट्रसंघीय उड्डयन निकायको नयाँ प्रस्तावित नियम लागू गर्न कुनै नयाँ प्रविधिको जडान आवश्यक छैन् र तत्कालै लागू गर्न सकिन्छ।

यसबारे अर्को महिना क्यानाडामा हुने उड्डयन सुरक्षा सम्मेलनमा थप छलफल हुने बताईएको छ।