श्रीलंकामा राष्ट्रपतीय चुनावमा मतदान

  • 8 जनवरी 2015
sl
Image caption श्रीलंकामा सबेरै देखि मतदान केन्द्रहरुमा मतदाताहरु लामवद्ध भएका छन्

करोडौं श्रीलंकालीहरुले देशको प्रतिस्पर्धात्मक राष्ट्रपतिय निर्वाचन मतदान गरेका छन्।

झण्डै एकदशक देखि सत्तामा रहेका महिन्द राजपक्षले तेस्रो कार्यकालका निम्ती पनि उम्मदवारी दिएका छन्।

तर उनलाई मैत्रीपाल सिरिसेनाले चुनौती दिएका छन्।

मतदानका बेला डर धम्की र हिंसाका घटना हुनसक्ने आशंकामा देशभरीका मतदान केन्द्रहरुमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

सिरिसेनाले चुनाव लड्नका लागि गत नोभेम्बरमा राजपक्षको सरकार छाडेका थिए।

अनुमान

सन् २००५ मा पद सम्हालेका राजपक्ष सन् २०१० मा पुनर्निवार्चित भएका थिए।

त्यतिबेला उनले पूर्व सेना प्रमुख सरत फोन्सेकालाई पराजित गरेका थिए।

यसपालि उनले निर्धारित अवधिभन्दा दुई वर्षअघि नै चुनाव आह्वान गरेका हुन्।

विश्लेषकहरुले राजपक्षले सहज रुपमा जित्न सक्ने अनुमान गरेका छन्।

सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि वाहवाहीका पात्र बनेका राजपक्षमाथि अहिले नातावाद तथा कृपावादको आरोप छ।

मुलुकको अधिकांश शक्तिशाली तथा प्रभावशाली पदहरुमा उनका नातेदारहरु छन्।

उनले मुलुकलाई पारिवारिक व्यवसाय चलाए जसरी चलाएको आलोचकहरु आरोप लगाउंछन्।

विश्लेषकहरु भन्छन्, सिरिसेनाले राजपक्षप्रतिको त्यस्तै धारणाको उपयोग गर्न खोजिरहेका छन्।

सिरिसेनाले खासगरी मुलुकका अल्पसंख्यकबाट अधिकांश मत प्राप्त गर्ने ठानिएको छ।

कुल जनसंख्यामा ३० प्रतिशत अल्पसंख्यक छन्।

तर राजपक्ष सिंहाली बहुसंख्यकहरुमाझ लोकप्रिय छन्।

फाइदा

आफ्नो निर्वाचन क्षेत्रमा मत खसाल्दै राजपक्षले आफूले तेस्रो पटक पनि मुलुक सम्हाल्ने जिम्मेवारी पाउनेमा विश्वस्त रहेको बताए।

उनको कार्यकालमा श्रीलंकाले आर्थिक रुपमा राम्रो फड्को मारेको छ।

साथै मुलुकमा गृहयुद्ध अन्त्य गरेको नेताका रुपमा पनि उनलाई राजनीतिक फाइदा देखिन्छ।

सन् १९७२ मा छुट्टै राज्यको माग गर्दै तमिल विद्रोहीहरुले अभियान थालेयता श्रीलंका जातीय रुपमा विभाजित छ।

राजपक्ष नेतृत्वको सरकारले विद्रोहलाई तहसनहस पारिदियो तर त्यो द्वन्द्वमा हजारौं मानिसको ज्यान गयो।

तर श्रीलंकाली सरकारले उक्त द्वन्द्वका क्रममा हजारौं गैरसैनिकको मृत्यु भएको भन्ने आरोपहरुको खण्डन गर्दै आएको छ।