श्रीलंकाका नयाँ राष्ट्रपतिद्वारा शपथ ग्रहण

  • 9 जनवरी 2015
माइत्रिपाला सिरिसेना तस्वीर कपीराइट AFP
Image caption आफ्नै मन्त्रिपरिषदका पूर्व स्वास्थ्यमन्त्री सिरिसेनाले उम्देवारी दिएर राजापाक्षेलाई आश्चर्यमा पारिदिएका थिए

श्रीलंकामा, देशका नवनिर्वाचित राष्ट्रपति मैत्रीपाल सिरिसेनाले राजधानी कोलम्बोमा एक समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

नयां राष्ट्रपति सिरिसेनाले झण्डै एकदशक सत्तामा रहेका भूतपूर्व राष्ट्रपति महिन्दा राजपक्षलाई विहीबार भएको निर्वाचनमा पराजित गरेका थिए।

नयां राष्ट्रपतिले भ्रष्टाचारविरुद्ध लड्ने र संवैधानिक सुधारहरु लागु गर्ने बचन दिएका छन्।  

सांझ पर्दै जांदा देशका नयां राष्ट्रपतिको सपथ ग्रहण समारोह हेर्न, राजधानी कोलम्बोको मध्य भागमा अवस्थीत स्वतन्त्रता चोकमा हजारौं मानिसहरु भेला भएका थिए।

बधाई

एक दिन अघि मात्र राष्ट्रपतीय निर्वाचनको मतदान र मत गणनाको व्यस्त समयमा देश हिंसा र डर धम्कीको आशंकाका कारण केहि तनावपूर्ण रहेको थियो।

तर यो राजनीतिक परिवर्तन अपेक्षाकृत सहज ढंगले सम्पन्न भएको छ।

नयाँ राष्ट्रपति सिरिसेनाले विभिन्न सुधारहरु गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले आफूले भ्रष्टाचार विरुद्ध लड्ने, नागरिक अधिकारहरुको सुरक्षा गर्ने र राष्ट्रपतिलाई प्रदान गरिएको संवैधानिक अधिकारहरु पुन: संसदलाई फिर्ता गर्ने बताएका छन्।

अमेरिकी विदेशमन्त्री जन केरी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उनलाई बधाई शुभकामना दिने प्रथम विश्व नेताहरु मध्येका हुन्।

आधिकारिक मत परिणामले मैत्रीपाल सिरिसेनाले ५१.३ प्रतिशत मत ल्याएर विजयी भएको देखाएको छ। उनी राजपक्ष सरकारका पूर्व मन्त्रीसमेत थिए।

सिरिसेनाका समर्थकहरुले उनलाई लामो जनयुद्धलाई अन्त्य गर्न र आर्थिक स्तर उकास्न सकेकोमा जश दिन्छन् भने आलोचकहरुले उनी भ्रष्ट र तानाशाही हुँदै आएको आरोप लगाउने गरेका छन्।

उनले तामिल र मुसलमान नेताहरुबाट समर्थन पाउने बचन चुनाव अघि नै पाइसकेका थिए।

मतपरिणामले देखाए अनुसार उनलाई त्यसबाहेक पहिला राजापाक्षेलाई समर्थन गरेका सिन्हलाहरुको समेत उल्लेख्य मत मिलेको छ।

हार स्वीकार

केही घन्टामा शपथ लिन लागेका सिरिसेनाले आफ्नो कार्यालय छोड्ने बेला उनलाई समर्थक र फोटोपत्रकारहरुले घेरेका थिए।

उनले निष्पक्ष चुनाव गर्न दिएकोमा राजपक्षलाई धन्यवाद दिएका छन्।

आधिकारीक मतपरिणाम आउनु अगावै राजपक्षले चुनावमा हार स्वीकार गरेका थिए।

उक्त स्वीकारोक्तिसँगै उनले विपक्षी नेताहरुसँग छलफल गरी शुक्रबार विहानै सरकारी निवास समेत छाडेका थिए।

कोलम्बोस्थित बीबीसीका सम्वाददाता अजम अमिनका अनुसार सहज सत्ता हस्तान्तरणको सुनिश्चितताका निम्ति राजपक्षले त्यस्तो निर्णय गरेका हुन्।

खुशीयाली

मतगणनाको शुरुदेखि नै उनका प्रतिष्पर्धी उम्मेदवार सिरिसेनाले अग्रता लिएका थिए।

राष्ट्रपतिले हार स्वीकार गरेको समाचार प्रकाशमा आए पछि थुप्रै ठाउँहरुमा आतिसवाजी गरिएको थियो।

महिन्दा राजपक्ष, झण्डै एक दशकदेखि श्रीलंकाको राजनीतिमा हावी थिए।

श्रीलंकाको पछिलो चुनावी इतिहासमा हिजो विहीबार सम्पन्न राष्ट्रपतीय निर्वाचनलाई सबैभन्दा प्रतिस्पर्धात्मक भएको बताईएको थियो।

आश्चर्य

नोभेम्बर महिना अघिसम्म राजपक्ष र सिरिसेना एकअर्काका सहयोगी थिए।

तर आफ्नै सरकारका पूर्व स्वास्थ्यमन्त्री सिरिसेनाले उम्मेद्वारीको घोषणा गरेर राजपक्षलाई आश्चर्यमा पारिदिएका थिए।

धेरै मानिसहरुले सन् २००९ मा गृहयुद्ध अन्त्य गरेको श्रेय राजपक्षलाई दिन्छन्।

तामिल टाइगर विद्रोहीहरुले दुई दशकदेखि गर्दै आएको सशस्त्र युद्ध सेनाले अन्त्य गरेको थियो।

अलोकप्रिय

राजपक्ष र सिरिसेना दुवै बहुसंख्यक सिन्हाला समुदायका हुन्।

अल्पसंख्यक समुदायहरुको अधिकांश मत सिरिसेनाले पाउने अनुमान गरिएको थियो।

उक्त समुदायमा राजापाक्ष अलोकप्रिय रहेको बताईन्छ।

निर्वाचन अधिकारीहरुका अनुसार उल्लेख्य संख्यामा मतदाताहरुले मतदान गरेका थिए र कतै पनि निर्वाचनसम्बन्धी उजुरी परेको थिएन।

निर्वाचन पर्यवेक्षकहरुले पनि तुलनात्मक रुपमा हिंसाका अत्यन्त कम घटना भएको बताएका थिए।