इश्लामवादी प्रचारक अबु हम्जालाई जन्मकैद

  • 10 जनवरी 2015
तस्वीर कपीराइट
Image caption अबु हम्जा विरुद्ध आतंकवाद सम्बन्धी ११ मुद्दा थियो

न्यू योर्क स्थित एउटा अदालतले उग्र इश्लाम प्रचारक अबु हम्जालाई आतंकवाद सम्बन्धी मुद्दामा जन्मकैदको सजाय दिएको छ।

एउटा विस्फोटमा हात् गुमाएपछि धातुको हुक लगाएका उनी उत्तर लण्डनस्थित फिन्सबरी पार्क मस्जीदमा पश्चिम विरुद्ध जिहादी भाषण गर्न थालेपछि चर्चामा आएका थिए।

उनलाई आतंकबाद र अपहरण सम्बन्धी ११ वटा आरोपमा सन २०१२ मा ब्रीटेनबाट अमेरिका सुपुर्दगी गरिएको थियो।

न्यायाधीशले अबु हम्जा समाजका लागि अझ पनि खतरनाक भएकाले जन्मकैदको निर्णय गरेको बताएकी छन्।

उक्साहट

उनले अदालतमा भनिन्- गैर मुश्लिमको हत्या गर्न उक्साउँदै आएका हम्जाले आफ्नो विचार बदलेर अब त्यसो गर्न छोड्लान् भन्ने विश्वास गर्ने ठाउँ छैन।

अबु हम्जालाई ब्रीटेनमा उनको उग्र भाषणका लागि जेलमा राखिएको थियो र अमेरिकामा उनलाई ओरेगन राज्यमा आतंकबाद सम्बन्धी तालिम शिविर स्थापना र सन १९९८ मा पश्चिमी पर्यटकहरुको अपहरण गर्न सघाएकोमा दोषी ठहर्याइएको छ।

तस्वीर कपीराइट afp
Image caption हमजाले अदालतमा बन्दीगृहमा आफुलाई परेको असजिलोबारे बोलेका थिए

उक्त अपहरणमा चारजना पर्यटक मारिएका थिए।

हम्जाले ति निधनहरुका लागि कुनै दुख: प्रकट नगरेकोप्रति न्यायाधीशले जोड दिइन्।

'निर्दोष'

हम्जाले आफु निर्दोष रहेको बताएका थिए।

अदालतमा उनले बन्दीगृहमा आफुलाई परेको असजिलोबारे बोलेका थिए र आफ्नो शारीरिक अवस्थालाई मिल्ने किसिमको उपचार सुविधायुक्त ठाउँका लागि जोड दिएका थिए।

हम्जाका वकिलहरुले उच्च सुरक्षा सहितको हालको बन्दी केन्द्रबाट अन्यत्र सारियोस भनेर आग्रह गरेपनि न्यायाधीशले जेल अधिकारीहरुलाई नै त्यसबारे निर्णय गर्न छोड्ने बताइन्।