क्यान्सर: विरामी बढे, स्रोत-साधन अपुग

  • 11 जनवरी 2015
Image caption क्यान्सरका धेरै विरामी रोग अन्तिम चरणमा पुगेपछि अस्पताल पुग्ने गरेको बताइन्छ

क्यान्सरका नयाँ विरामीहरुको संख्या पछिल्ला वर्षहरुमा तीब्र रुपमा बढ्दै गएको स्वास्थ्य निकायहरुले बताइरहेका बेला उक्त रोगको उपचारमा आवश्यक उपकरण र जनशक्तिको कमी रहेको चिकित्सकहरुले बताएका छन्।

गएको १० वर्षमा क्यान्सरको उपचारका निम्ति अस्पताल पुग्ने बिरामीको संख्या १० गुणाभन्दा धेरै बढेको अस्पतालका आँकडाहरुले देखाएको उनीहरुको भनाई छ।

नेपालमा पहिलो पटक क्यान्सरको उपचार सुरु गरेको आफू कार्यरत बीर अस्पतालको तथ्याङ्क पेश गर्दै डा. चापागाईं भन्छिन, "सन् २००३ मा १ सय २७ विरामी भएकोमा त्यो संख्या २०१३ सम्ममा झन्डै १६ सय पुगेको छ, यो हेर्दा नेपालमा पनि क्यान्सरका विरामीहरुको संख्या निकै बढेको देखाउँछ।"

अभाव

विश्वभरी क्यान्सरका विरामीहरुको तथ्यांक राख्ने ग्लोबोक्यान नामक संस्थाले गरेको अनुमान अनुसार नेपालमा वर्षेनी ५० देखि ७० हजार नयाँ क्यान्सरका विरामी देखापर्छन्।

उक्त अनुमानलाई आधिकारिक मान्न नसकिए पनि अस्पतालमा दर्ता भएका विरामीहरुको संख्याको आधारमा नेपालमा तीव्र रुपमा क्यान्सर रोगीको संख्या बढिरहेको चिकित्सकहरुको भनाई छ।

तर स्रोत-साधनको कमी छ।

डा. चापागाईं भन्छिन्, "नेपालमा जसरी विरामीहरु बढीरहेका छन्। त्यो अनुसार नयाँ अस्पताल बनाउन उपकरण र चाहिने जनशक्ति थप्न अति नै आवश्यक छ।"

उल्लेख्य संख्या

नेपालमा सबैभन्दा बढी मानिसमा फोक्सोको क्यान्सर देखिएको छ।

महिलाहरुमा मात्रै हेर्ने हो भने पछिल्लो समय पाठेघर र स्तनको क्यान्सरमा बृद्धि भएको छ।

कतिपय अन्य अस्पताल र नर्सिङ होमहरुमा क्यान्सरको उपचार हुने भए पनि उपलब्ध स्रोत-साधनमा विश्वास गर्न नसकि धेरै विरामीहरु उपचारका निम्ति भारतलगायतका मुलुक जाने गरेको बताइन्छ।

चाँडो रोग पत्ता लागे निको हुने यो रोगको उपचारका लागि बिरामीहरु भने निकै ढिलो मात्रै अस्पताल पुग्ने गरेको बताइन्छ।