'दीर्घकालमा असर गर्ने कुनै लेनदेन हुँदैन'

  • 10 जनवरी 2015
Image caption सहमतिको प्रयास गर्न भन्दै दिइएको समयावधी सकिन अब दुइ दिनमात्रै बाकिँ छ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान निर्माणका क्रममा दलहरुका बीचमा लेनदेन गर्ने नाममा दूरगामी असर गर्ने कुनै पनि विषयमा सम्झौता नगर्ने बताएका छन्।

संविधान जारी गर्न तोकिएको समयसीमा नजिकिदैं गर्दा प्रमुख दलहरुबीच संघीयता, शासकीय स्वरुप लगायतका जटिल मुद्दामा लेनदेन हुनसक्ने चर्चा भइरहेका बेला उनको त्यस्तो भनाइ आएको छ।

शनिबार एमाले केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अर्को साता संवैधानिक राजनीति संवाद तथा सहमति समितिले प्रतिवेदन बुझाए लगतै संविधानसभाले प्रक्रिया अगाडी बढाउने र माघ ८ मै संविधान जारी हुने पनि बताए।

सहमति जुटाउनका लागि प्रधानमन्त्री सुशील कोइराला लगायत विभिन्न दलका नेताहरुले सबैको जित हुने अवस्था आउने गरी लेनदेन गर्न सकिने अभिव्यक्तिहरु दिइरहेका बेला अर्को प्रमुख सत्तारुढ घटक एमालेका अध्यक्ष ओलीले संविधान निर्माण जस्तो महत्वपूर्ण काम बजारमा सामान किनेको जस्तो मोलमोलाइ नभएको बताए।

सम्झौता

उनले भने, "संविधान निर्माण गर्ने विषय आलु प्याज किने जस्तो होइन। ५० मा देउ भन्यो, उसले होइन ६० बिना दिन्न भन्छ, त्यसो भए ५५ मा मिलाउन भने जस्तो हैन। एउटा प्रचलित भाषा छ नि 'गिभ एन टेक,' 'वीन वीन,' देशको हितमा के को 'गिभ एन टेक,' 'वीनवीन'?"

पार्टीका अन्य शीर्ष नेताहरुलाई दायाँ बायाँ राखेर पत्रकारहरु माझ प्रस्तुत भएका ओलीले सहमतिका लागि आफ्नो पार्टी तयार रहेपनि देशलाई दूरगामी असर गर्ने विषयमा भने सहमतिका नाममा सम्झौता नगर्ने बताए।

उनले भने, "देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र नेपाली जनताको एकतालाई कमजोर पार्ने बाहेकका कुरामा सम्झौता गर्न सकिन्छ, यति सिट कि त्यति सिट भन्ने कुरा लगायतका कतिपय कुरामा लचिलो हुन सकिन्छ। तर मूलभूत प्रश्नहरु जुन छन् तिनमा सम्झौता गरिँदैन।"

प्रकृया

संविधानसभाले पछिल्लोपटक संवाद समितिलाई दिएको समयसीमा पुस २८ गते सम्म सहमतिको प्रयास गर्ने र सहमति जुटन नसके त्यसको भोलिपल्टदेखि प्रक्रियामा जानुपर्ने उनको भनाइ थियो।

उनले माघ ८ पछि नयां सत्तासमीकरण बनाउन खोजेको भन्ने आरोपहरुको खण्डन गर्दै आफूलाई प्रधानमन्त्री बन्ने हतारो नभएको बताए।

केही दिनअघि चार दलका शीर्ष नेताहरुको छलफलका क्रममा भएको विवादपछि ओलीले क्षमायाचना गर्नुपर्ने तराई केन्द्रित दलहरुले माग गर्दै गर्दा उनले आफूले माफी माग्नु पर्ने गरी कुनै कुरा नभनेको, बरु आफ्नै अपमान भएको तर्क समेत गरे।

पछिल्ला दिनमा सहमति खोज्नका लागि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग नजिकिएका एमाले नेता माधब नेपालले पनि पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड कुनै न कुनै दवाबमा रहेको आफुले महसुस गरेको र त्यसका कारण सहमति जुट्न नसकेको बताए।