पेरिसमा 'उच्चतम' सुरक्षा

  • 10 जनवरी 2015
तस्वीर कपीराइट Getty
Image caption प्रहरीले हमलाकारीलाई सहयोग गर्ने एक महिलाको व्यापक खोजी भैरहेको जनाएको छ

पेरिसमा १७ जनाको ज्यान लिने गरी तीन दिनसम्म मच्चिएको आंतकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री बेरनार काजनुभले देशको सुरक्षाका लागी सबै आवश्यक कदमहरु चालिएको बताएका छन्।

सरकारका मन्त्रीहरुको एउटा आपत्कालिन बैठकपछि उनले पेरिस र आसपासका क्षेत्रहरुमा उच्चतम सुरक्षा सजगता अपनाइएको बताए।

उनले प्रहरी र अरु सुरक्षा निकायलाई सघाउन शहरमा ३ सय सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए।

यसैबीच पेरिसमा ज्यान गुमाएकाहरुको सम्झनामा फ्रान्सका विभिन्न शहरमा मौन जुलुसहरु निस्किएका छन्।

उच्च सुरक्षा

१७ जनाको हत्या गरेका बन्दुकधारीहरुलाई सहयोग पु-याउने व्यक्तिहरुको खोजी कार्य जारी रहँदा फ्रान्समा प्रहरीलाई उच्च सतर्कतामा राखिएको अधिकारीहरुले बताएका हुन्।

पेरिसस्थित यहुदीहरुले किनमेल गर्ने एउटा सुपरमार्केटमा धावा बोल्ने बन्दुकधारी एमदी कुलेवालीइकी साथी आयत बुमिडियन अझै पनि फरार रहेकी छिन्।

एक जना महिला प्रहरीको हत्या गरिंदा कुलेवालीइसँगै रहेको र प्रहरीले उनी खतरनाक रहेको बताएको छ।

उक्त गोलीकाण्डपछि दुबै हराएपनि पूर्वी पेरिसस्थित सुपरमार्केटमा देखा परेका कुलेवालीले कयौँ मानिसहरुलाई बन्धक बनाएका थिए।

बुधवार शार्ली अब्दो पत्रिकाको कार्यालयमा हमला गरेका दुई जना बन्दुकधारीहरु भने प्रहरी कार्वाहीमा मारिएका छन्।

राष्ट्रपति फाँस्वा ओलन्दले सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै अझै खतरा टरी नसकेको बताए।

सदभाव

शनिबार बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषदको बैठकपछि गृह मन्त्री बेरनार काजनुभले आगामी केही हप्तासम्म फ्रान्समा उच्च सुरक्षा सतर्कता अपनाइने बताए।

आइतबार फ्रान्स सहित ब्रिटेन र जर्मनीका नेताहरु सहभागी रहने गरी पेरिसमा आयोजना गरिने सदभाव -यालीका लागी कडा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।

यसैबीच पेरिसमा ज्यान गुमाएकाहरुको सम्झनामा फ्रान्सका विभिन्न शहरमा मौन जुलुसहरु निस्किएका छन्।

विभिन्न शहरमा भैरहेका त्यस्ता -यालीमा २० देखि ३० हजार मानिसहरु सहभागी रहेको बताइएको छ।

शार्ली एब्दो पत्रिकामाथिको आक्रमण प्रति असहमति जनाउने क्रममा कतिपय सहभागीहरुले सार्वजनिक स्थलमा कलमहरु छोडेर साङ्केतिक विरोध गरिरहेका छन्।