क्रोएसियामा प्रथम महिला राष्ट्रपति

  • 12 जनवरी 2015
तस्वीर कपीराइट .
Image caption कोलिन्दा ग्राबर कितारोभिचले यसअघि विदेशमन्त्रीको पद सम्हालिसकेकी छन्

मध्य युरोपेली मुलुक क्रोएसियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छन्।

झिनो मतअन्तरले कोलिन्दा ग्राबर कितारोभिच प्रथम राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन्।

पहिलो चरणको राष्ट्रपतीय चुनाव अनिर्णित भएपछि दोस्रो पटक भएको निर्वाचनमा कोलिन्दा ग्राबर कितारोभिचले इभो इसिपोभिचलाई पराजित गरेकी हुन्।

उनले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकी छन् भने इसिपोभिचले ४९ प्रतिशत मत मात्र पाएका छन्। पहिलो चरणको निर्वाचनमा दुवैले लगभग समान मत पाएका थिए।

आलंकारिक

इसिपोभिचले पराजय स्वीकार्दै ग्राबर कितारोभिचलाई बधाई दिएका छन्।

क्रोएसियामा राष्ट्रपति पद आलंकारिक भएपनि निर्वाचन परिणामले यसैवर्षको अन्त्यतिर हुने आमनिर्वाचनअघि क्रोएसियाले वामपन्थीबाट दक्षिणपन्थी धार समात्न लागेको देखिन्छ।

ग्राबर कितारोभिच क्रोएसियाको राजनीतिक वृत्तमा नयाँ व्यक्ति भने होईनन्।

यसअघि उनले विदेशमन्त्रीको रुपमा काम गरिसकेकी छन्।

तस्वीर कपीराइट AFP
Image caption आर्थिक मन्दीबाट मुलुकलाई पार लगाउन नसकेको इभो इसिपोभिचमाथि आरोप थियो

तर अहिले उनले क्रोएसियाको प्रथम महिला राष्ट्रपतिको रुपमा इतिहास रच्न लागेकी छन्।

राजनीति

उनी परम्परावादी र राष्ट्रवादी भनिएको क्रोएसियन डेमोक्र्याटिक युनियन पार्टीकी सदस्य हुन्।

ग्राबर कितारोभिचको विजयले क्रोएसियाले समात्न लागेको राजनीतिक दिशालाई संकेत गरेको छ।

सत्तारुढ मध्यवामपन्थी गठबन्धनले लगातार ६ वर्षदेखि जारी आर्थिक मन्दीबाट मुलुकलाई पार लगाउन असफल भएको र मतदाताहरुले धैर्य गुमाईसकेका बताईन्छ।

प्रधानमन्त्री जोरान मिलानोभिचले वर्तमान राष्ट्रपति इभो इसिपोभिचका निम्ति उनकै शब्दमा बोझ भएकोमा क्षमायाचना गरेका छन्।

यसै वर्षको अन्त्यमा हुने आमनिर्वाचनमा पनि वर्तमान सरकारले मूल्य चुकाउनुपर्ने बताईन्छ।