फ्रान्स हमलामा मारिएका प्रहरीको अन्त्येष्टी

  • 13 जनवरी 2015
तस्वीर कपीराइट Getty
Image caption गत बुधबार पेरिसमा शार्ली एब्डो पत्रिकाको कार्यालयमा हमला गरि इस्लामिक बन्दूकधारीहरुले १२ जनाको ज्यान लिएका थिए।

पेरिसको प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाँदले तीनजनै प्रहरी अधिकारीहरुलाई मृत्युपश्चात लेजोँ डोन्न सम्मानबाट विभूषित गरे।

उनीहरुको शव राखिएको कफिनलाई फ्रान्सको राष्ट्रिय झण्डाले बेरिएको थियो।

मारिएका मध्ये एक अश्वेत, एक श्वेत अनि एक अरब मूलका रहेको भन्दै तिनले फ्रान्सको विविधताको प्रतिनिधित्व गर्ने राष्ट्रपतिले बताए।

प्रत्येक कफिनको सामु झुकेर सम्मान प्रकट गरेका राष्ट्रपतिले उनीहरुलाई फ्रान्सको उच्चतम अलंकारबाट विभूषित गरे।

शिकार

मारिने मध्येका मुसलमान प्रहरी अधिकारी आहमेद मेराबे प्रति सम्मान प्रकट गर्ने क्रममा उनले भने, “उनलाई थाहा थियो कि उग्रवादी इस्लामवादीहरुको इस्लामसंग कुनै सरोकार छैन। अनि त्यस्तो उग्रवादले मुसलमानहरुलाई नै मार्छ। इराक सिरिया र फ्रान्समापनि त्यही भएको हो।”

मारिएका तीन प्रहरीमध्ये दुई जना शार्ली एब्डो पत्रिकामाथि गरिएको हमलाका बेला मारिएका थिए भने तेस्रा चाहीं उक्त घटनाको एक दिनपछि एक बन्दूकधारीले गरेको आक्रमणमा मारिएका थिए। गत साताको तीन दिन भएका हमलामा १७ जना मारिएका थिए।

गत साता पेरिसमा एक यहुदी विशालबजारमा गरिएको आक्रमणमा मारिएका चारजनाको जेरुसलेममा अन्त्येष्टी गरिएको छ।

अन्त्येष्टी कार्यक्रममा इजरेलका प्रधानमन्त्री तथा राष्ट्रपति सहभागी भए। इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले ती यहुदी घृणाको शिकार भएको बताए।

कार्टुन

इजरेली राष्ट्रपतिले चाहीं यहुदीहरु यूरोपमा त्रासका माझ बाँच्नुपर्ने स्थिति अस्वीकार्य रहेको बताए।

यस हप्ता उक्त पत्रिकाले आफ्नो पछिल्लो संस्करणको मुखपृष्ठमा पैगम्बर मोहमदको कार्टुन चित्र प्रकाशित गरेको छ जसमा उनले म शार्ली हुँ भनेको देखाइएको छ।

उक्त घटनापछि विश्वभर मानिसहरुले सो पत्रिकाको समर्थनमा म शार्ली हुँ भन्ने अभिव्यक्ति गरेका थिए।

विगतमा पैगम्बर मोहमदकै कार्टुन प्रकाशित गरेको कारण बन्दूकधारीहरुले उक्त पत्रिकामा आक्रमण गरेको बताइएको छ।