शार्ली एब्दोको नयाँ अंक बजारमा

  • 14 जनवरी 2015
तस्वीर कपीराइट AP
Image caption शार्ली एब्दोका कर्मचारीले नयाँ अंकको आवरण पृ्ष्ठको कार्टुनको बचाउ गरेका छन्

आफ्नो कार्यालयमा बन्दुकधारीहरुले आक्रमण गरेको एक सातापछि फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्दोले नयाँ अंक विश्व बजारमा ल्याएको छ।

आवरण पृष्ठमा छापिएको पैगम्बर मुहम्मदको कार्टुनलाई पत्रिकाका कर्मचारीहरुले भद्र, रमाईलो र प्रकाशनको मर्मअनुरुप भएको बताएका छन्।

पैगम्बर मुहम्मद रोईरहेको देखाईएको कार्टुनको भने प्रमुख इस्लामिक विद्वानहरुले आलोचना गरेका छन्।

सुन्नी इस्लामबारे निकै सम्मानित अध्ययन केन्द्र अल-अजहरले उक्त कार्टुनले घृणा फैलाउने जनाएको छ।

क्षमादान

जोर्डनका राजकुमारले कार्टुनले घाउमा नुन छर्केको जस्तो गर्ने टिप्पणी गरेका छन्।

तर कार्टुन चित्रको अर्थ आफ्ना आठजना सहकर्मीहरुको हत्या गर्ने इस्लामवादी लडाकुहरुलाई माफी दिईएको भएको उक्त पत्रिकाका एकजना पत्रकारले बताए।

कार्टुनमा पैगम्बर मुहम्मदले बोकेको प्लेकार्डमा म शार्ली हूं र सबै कुराका निम्ति क्षमादान दिईयो भन्ने सन्देश लेखिएको बताईएको छ।

विश्वका विभिन्न समाचार संस्थाहरुले उक्त कार्टुन आफूहरुले पुनः प्रकाशन गर्ने बताएका छन्।

प्यारिसस्थित शार्ली एब्दोका कार्यालयमा बन्दुकधारीहरुले आक्रमण गर्दा १७ जना मानिसहरु मारिएका थिए।

अतिवाद

उक्त आक्रमणपछि लाखौं संख्यामा पत्रिकाको नयाँ अंक अरेबिक लगायत विभिन्न ६ वटा भाषामा छापिएको छ।

नयाँ अंक बुधबार बजारमा गएको उक्त पत्रिकाले जनाएको छ।

गत साता गरिएको आक्रमणमा मारिएकाहरुको सम्मानमा फ्रेन्च संसदमा मौन धारण गरिएको छ।

प्रधानमन्त्री म्यानयुएल भाल्सले फ्रान्स मुस्लिमहरुसंग नभई अतिवाद र आतंकवादसंग लडाईमा रहेको बताए।

संसदलाई संबोधन गर्दै उनले बन्दुकधारीहरुले फ्रान्सेली मान्यताको हत्या गर्ने प्रयास गरेपनि असफल भएको जनाए।