गौतम बुद्ध विमानस्थलको स्तरोन्नति शुरु हुंदै

  • 15 जनवरी 2015
तस्वीर कपीराइट TIA
Image caption वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता बढ्दै गएको बताईएको छ

अबको ३ वर्षपछि सञ्चालनमा आउने गरी भैरहवास्थित गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न स्तरोन्नतिका लागि बिहिबार प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गर्दैछन्।

शिलान्यास पश्चात बिहिबारबाटै भौतिक निर्माणको काम शुरु हुने भएपनि लामो समयदेखि चर्चामा रहेका पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बाराको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा भने ढिलाई हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

काठमाण्डूमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक चाप बढेका कारण कयौं विमानहरुले घण्टौंसम्म आकाशमै फन्को मार्नुपर्ने बाध्यता भईरहेका बेला गौतम बुद्ध विमानस्थललाई वैकल्पिक विमानस्थलको रुपमा विकास गर्न भन्दै शिलान्यास हुन लागेको हो।

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोग र नेपाल सरकारको झण्डै नौ अर्ब रुपैयाँको संयुक्त लगानीमा यो विमानस्थल बन्न लागेको हो।

स्तरोन्नति

विमानस्थलको स्तरोन्नति तीन चरणमा हुने विमानस्थल स्तरोन्नति आयोजनाका निर्देशक मुरारी भण्डारीले बताए।

पहिलो चरणको काम बिहिबारबाटै सुरु भएर तीन वर्षमा सकिने दोस्रो चरणको काम सन २०१८ बाट सुरु भएर पाँच वर्षमा समाप्त हुने र तेस्रो चरणको काम सन २०२२ बाट सुरु गरीने योजना रहेको उनले बताए।

प्रत्येक चरणमा विमानस्थलको क्षमता बढाउदै लगिने उनको भनाई छ।

हालको निर्माणबारे भण्डारीलेले भने, “धावनमार्गको लम्बाई तीन हजार मिटर हुन्छ, अन्तराष्ट्रिय जहाज ६ वटा र चार वटा घरेलु जहाज अवतरण गर्न सकिन्छ, पहिलो चरणमा २०१७ मा काम सकाएर २०१८ बाट संचालनमा ल्याएपछि पहिलो वर्ष साढे चार लाख यात्रुहरुलाई यसले सेवा दिन सक्छ भन्ने हाम्रो अनुमान छ।”

भविष्य

गौतम बुद्ध विमानस्थलबाहेक पोखरा क्षेत्रीय विमानस्थल र बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले पनि निकै चर्चा पाईरहेको छ।

तर तिनको निर्माणमा भने थप केही समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उप-महानिर्देशक महेन्द्रसिंह रावलले बताए।

उनले भने, “पोखरा विमानस्थलको जग्गा अधिग्रहणको काम भईरहेकोले निकट भविष्यमै चाँडै शिलान्यास हुन्छ, निजगढको त अलि लामै समय लाग्छ किनकि त्यसका लागि लगानीकर्ताको पहिचान भईसकेको छैन्।”

नेपालमा सेवा विस्तार गर्ने स्वदेशी तथा विदेशी हवाई सेवा कम्पनीहरुको संख्या बढ्दै गईरहेका बेला काठमाण्डूको एक मात्र अन्तराष्ट्रिय विमानस्थल साँघुरो हुँदै गईरहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रियस्तरको थप विमानस्थलको माग लामो समयदेखि उठ्दै आएको हो।

तर लगानीको अभाव र राजनीतिक अस्थिरताका कारण तिनको निर्माणमा ढिलाई हुनसक्नेप्रति कतिपयले चिन्ता व्यक्त गरेका छन्।