‘पुरै तागत आन्दोलनमा’

  • 15 जनवरी 2015
तस्वीर कपीराइट AFP
Image caption एकीकृत माओवादीले आन्दोलनमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएको छ

सत्ताधारी दलहरुले आफूहरुको साझा प्रस्ताव संविधानसभामा निर्णयार्थ प्रस्तुत गरी संविधानको पहिलो मस्यौदा तयार गर्नुपर्ने धारणा अघि सारेपछि प्रमुख विपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना सम्पूर्ण तागत आन्दोलनमा लगाउन आव्हान गरेका छन्।

संविधानसभा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र जनजाति समूहहरुसँग मिलेर संयुक्त आन्दोलन अघि बढाउने गृहकार्यका लागि बोलाइएको बैठकमा उनले त्यस्तो भनाइ राखेका हुन्।

यसैबीच सहमतीय प्रकृयाबाट संविधान निर्माण अघि बढाइए संविधानसभा भित्रै त्यसको कडा प्रतिवाद गर्ने एक जना विपक्षी नेताले बताए।

शुक्रबार बस्ने संविधानसभाको बैठकबाट बहुमतीय प्रकृया अनुरुपको मस्यौदा लेखन प्रकृया आरम्भ गर्न सतारुढ दलहरुले दबाब दिइरहेका छन्।

आन्दोलन

सत्तापक्षीय दलहरुसँग वार्ता र सम्वाद समेत टुटेको पछिल्लो अवस्थामा बिहीबार एकीकृत माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले मोहन बैद्य नेतृत्वको नेकपा माओवादी र पदमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिसँग संयुक्त छलफल गरेको थियो।

राजधानीको एउटा पार्टी प्यालेसमा भएको उक्त छलफलपछि संयुक्त रुपमा आन्दोलन अघि बढाउने तयारी तीनै पक्षले गरेका छन्।

सो बैठकलाई सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भने, “संयुक्त आन्दोलनको कार्यक्रम तय भएको छ, यसलाई सफल बनाउन हामी सबैले आआफ्नो ठाउँबाट पुरै तागत लगाउन जरुरी छ, आउने दिनमा यो राष्ट्रको नेतृत्व गर्ने एउटा वैकल्पिक शक्ति बन्ने आँट र दृष्टिकोण सहित हामीले आफूलाई तयार पार्नु जरुरी छ।”

यसअघि फरक फरक दिनका लागी आव्हान गरिएको आमहडताल संयुक्त रुपमा गर्ने सहमति गर्दै तीनै पक्षले भावी आन्दोलनका कार्यक्रमहरु तय गर्न एउटा १९ सदस्यीय कार्यदल गठन गरेका छन्।

टक्कर

प्रचण्डले पहिचान सहितको संघीयता लगायतका, उनकै शब्दमा, परिवर्तनका एजेण्डा जोखिममा परेकाले पछिल्लो परिस्थितिमा संविधानसभा भित्र वा बाहिर रहेका शक्तिहरुमा खासै अन्तर नरहेको बताए।

उनले भने, “हामीको संविधानसभा भित्र छौँ, को बाहिर छौँ, त्यो त्यति धेरै ठूलो कुरा होइन, जनताले बलिदान गरेर प्राप्त भएका उपलब्धि खोसिने कुराले चिन्तित छौँ हामी। संविधानसभा पहिलोमा देखिएको तिक्तता फेरी यो चिन्ताका कारण एक ठाउँमा केन्द्रित हुने वातावरण बन्दैछ।”

सत्तापक्षीय दलहरुले शुक्रबार बस्ने संविधानसभाको बैठकबाट बहुमतीय प्रकृया आरम्भ गर्न संविधानसभाका अध्यक्षलाई दबाब दिने रणनीति लिएका छन्।

तर सहमतीय प्रकृया मिच्न खोजिए संविधानसभामै कडा प्रतिकार गर्ने निर्णय बिहीबार बसेको पार्टीको पोलिटब्युरो बैठकले गरेको एकीकृत माओवादीका एकजना नेता अग्नि सापकोटाले बताए।

उनले भने,“हाम्रो प्रतिवादको रुप कस्तो हुन्छ भन्ने कुरा सत्तापक्षको रवैयामा भर पर्छ, बहुमतले निर्णय गर्न खोजियो भने हामी कडा प्रतिवाद गर्छौँ।”

संविधान जारी गर्न आफैँले निर्धारण गरेको समयसिमा गुज्रन लगभग एक हप्ता बाँकि रहँदा सत्तापक्षीय र विपक्षी दलहरु बिच टकराव बढ्दै गएको देखिन्छ।

तर अझै सहमतिको सम्भावना कायम रहेको भन्दै एकीकृत माओवादीका नेताहरुले तत्कालै संविधानसभाबाट बाहिरिने पक्षमा आफूहरु नरहेको बताएका छन्।