पोप फ्रान्सिसद्वारा अभिव्यक्ति स्वतन्त्रताको बचाउ

  • 15 जनवरी 2015
तस्वीर कपीराइट EPA
Image caption पोपलाई हेर्न अबको तीन दिनमा लाखौं मानिसहरु सडकमा ओर्लने अनुमान गरिएको छ।

क्याथोलिक इसाईहरुका सर्वोच्च धर्मगुरु पोपले अभिव्यक्ति स्वतन्त्रताको बचाउ गर्दै अन्य मानिसहरुलाई तिनीहरुको धर्मको अपमान गरेर भड्काउन खोज्नु चाहिं गलत भएको बताएका छन्।

पोप फ्रान्सिसको त्यस्तो टिप्पणी गत हप्ता प्यारिसमा एउटा व्यंग्य पत्रिका शार्ली एब्डोको कार्यालयमा भएको आक्रमणका सन्दर्भमा आएको हो।

उनले त्यस्तो भनाइ श्रीलंकाबाट फिलीपीन्स जान लाग्दा हवाईजहाजमा आफूसंग यात्रामा रहेका पत्रकारहरु समक्ष राखेका थिए।

उनलाई फिलीपीन्सको राजधानी मनिलामा राष्ट्रपति बेनीन्यो एक्वीनो र दशौं हजार उत्साही जनताले स्वागत गरेका थिए।

स्वागत

आगामी तीन दिनमा उनलाई हेर्नका लागि लाखौं मानिसहरु सडकहरुमा ओर्लने अनुमान गरिएको छ।

फीलीपीन्सका झण्डै आठ करोड क्याथोलिक इसाईहरुले विगतमा पनि निकै जोशका साथ पोपहरुको स्वागत गर्ने गरेका थिए।

पोप फ्रान्सिसलाई भने मानिसहरुले केही भिन्न रुपमा लिएका छन्, तिनीहरुले उनलाई गरीबहरुका पोप भन्ने गरेका छन्।

त्यसअघि श्रीलंकामा हुंदा पोप फ्रान्सिसले हालसालै निर्वाचन हारेका भूतपूर्व राष्ट्रपति महिन्द राजपक्षसंग भेट गर्ुनका साथै एउटा बौद्ध मन्दिरको आकस्मिक भ्रमण पनि गरेका थिए।

बौद्धमार्गी, हिन्दू, मुसलमान र अल्पसंख्यक क्याथोलिक धर्मावलम्बीहरु भएको मुलुक श्रीलंकामा बोल्दै पोपले धर्मले मानिसहरुलाई विभाजित गर्नु भन्दा पनि पुनर्निर्माण र आपसी मेलमिलापमा सघाउने कुरामा जोड दिएका थिए।