'माघ ८ ध्यान दिँदै उच्च सुरक्षा सतर्कता'

  • 17 जनवरी 2015
तस्वीर कपीराइट Reuters
Image caption महत्वपुर्ण मानिएका ठाउँहरुमा उच्च सुरक्षा सतर्कता अपनाईएको गृह मन्त्रालयले जनाएको छ।

नयाँ संविधान जारी गर्ने भनिएको मिति माघ ८ नजिकिदै जाँदा जुलुस प्रदर्शन र हड्तालहरु नियन्त्रण गर्न दंगा नियन्त्रण रणनीति लागू गरिएको गृहमन्त्रालयले जनाएको छ।

आन्दोलनका गतिविधि बढ्न सक्ने कुरालाई ध्यानमा राखेर यस्तो रणनीति ल्याइएको बताइएको छ।

निषेधित क्षेत्रमा आन्दोलन गर्ने जोसुकै माथि प्रहरी कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।

यही सेरोफेरोमा विशिष्ट व्यक्तिहरुका लागि विशेष सुरक्षा रणनीति बनाईएको पनि उसले बताएको छ।

नियन्त्रण

प्रमुख विपक्षी एकिकृत नेकपा माओवादीलगायतका दलहरुले सडक तताउने रणनीतिक लिएपछि गृह मन्त्रालयले सुरक्षा सतर्कता अपनाएको हो।

विभिन्न जातीय संगठन तथा कतिपय राजनीतिक दलहरुको जुलुस, धर्ना र हड्तालका कारण सुरक्षा चुनौति थपिने आँकलन अधिकारीहरुले गरेका छन्।

सुरक्षा रणनीति अन्तर्गत काठमाण्डुमा संविधानसभाको भवन, सिंहदरबार, ठुला वजार, घर तथा पुलहरुमा निगरानी बढाएको जनाइएको छ।

विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको बताईएको छ।

निषेधित क्षेत्रमा धर्ना जुलुस गरे प्रहरीले तत्काल कारबाही गर्ने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।

उनले भने, “निषेधित क्षेत्रभित्र सभा, जुलुस, नारा, धर्ना गरेमा प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन अनुसार प्रहरीको सहायताले त्यहाँबाट हटाउन वा नियन्त्रणमा लिन सक्नेछ।”

निगरानी

माघ ८ गतेलाई लक्षित गरेर विशिष्ट व्यक्तिहरुको सुरक्षामा पनि चुनौति थपिएको आंकलन गर्दै उनीहरुको सुरक्षाको लागि विशेष रणनीति बनाईएको ढकालले बताए।

उनले भने, “विशिष्ट व्यक्तिहरुको नजिकमा रहेका प्रहरी चौकीहरुले उनीहरुलाई निगरानी गरिरहेको छ, त्यस्ता व्यक्तिहरुले पनि निरन्तर प्रहरीसँग सम्पर्क गरिरहेका छन् र आवश्यकता परे हामी सुरक्षा दिन्छौं।”

विभिन्न मागहरु राख्दै जातीय संगठन तथा विपक्षी दलहरुले बेला बेला गर्दै आएको बन्दमा यातायात व्यवसायी वा व्यापारीहरुले खुला गराउन सहयोग मागे प्रहरी परिचालन गरेर खुलाउन मद्दत गर्न सकिने समेत उनले बताए।

तर सरकारले त्यस्तो अवस्थामा सुरक्षाको प्रत्याभूति दिन नसकेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन्।