बेल्जियममा थप फौज परिचालन

  • 17 जनवरी 2015
तस्वीर कपीराइट BBC World Service
Image caption उग्रवादीहरुद्धारा पुन: आक्रमण हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाईएको अधिकारीहरुले बताएका छन्

बेल्जियमका प्रहरीलाई मार्न बनाइएको एक इस्लामबादीहरुको षडयन्त्रलाई विफल बनाएको बताएपछि त्यहाँका अधिकारीहरुले देशभरका शहरहरुमा सुरक्षा मजबूत पार्न फौज परिचालन गरेका छन्।

अनुसन्धानकर्ताहरुले उक्त सम्भावित आक्रमणमा संलग्न रहेको आशंकामा १३ जनालाई सोधपुछ गरिरहेको बताइएको छ।

पूर्वी बेल्जियमको एउटा शहरमा भएको बन्दुक हानाहानमा दुई जना सम्भावित उग्रवादी मारिएपछि ५ जना माथि आतंकवादी गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको अधिकारीहरुले बताएका छन्।

सतर्कता

आतंकवादी गतिविधिको आंशकामा खानतलासी र सम्भावित इस्लामवादी उग्रवादीहरुको गिरफ्तारीपछि युरोपभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

बेल्जियममा २० जना भन्दा बढीलाई गिरफ्तार गरिएको छ र बेल्जियमसँगै फ्रान्स र जर्मनीले प्रहरी बाहेक थप फौजहरु परिचालन गरेका छन्।

अघिल्लो हप्ता पेरिसमा भएको हमालामा १७ जनाको ज्यान गएपछि धेरै देशहरुमा कडा सुरक्षा व्यवस्था कायम गरिएको छ।

मध्यपूर्वका उग्रवादीहरुलाई साथ दिन गएका युरोपेली युवाहरु फर्किएको भन्दै चिन्ताहरु व्यक्त भएका छन्।

विहिबार साँझ यता गरिएको कार्वाही पछि बेल्जियममा एउटा आंतकवादी समुहका गतिविधिमा संलग्न रहेको भन्दै ५ जना माथि अभियोग लगाइएको छ।

घोषणा

२ जना सम्भावित उग्रवादी मारिएको सो कार्वाहीका क्रममा बन्दुक, अन्य हातहतियार र विस्फोटक पदार्थ साथै प्रहरीका पोशाक र ठूलो मात्रामा नगद बरामद गरिएको थियो।

शुक्रबार वेल्जियन सरकारले आतंकवादीहरुसँग जुध्न नयाँ कानुनहरुको घोषणा गरेको छ।

जसमा आतंकवादी गतिविधिमा संलग्न हुन गरिने यात्रालाई अपराध मान्ने र आतंकवादी गतिविधिमा संलग्न हुनसक्ने आशंका गरिएका दोहोरो नागरिक्ता प्राप्त गरेका व्यक्तिहरुको वेल्जियन नगरिक्ता रद्द गर्ने लगायत छन्।

हालसम्म अघिल्लो हप्ता पेरिसमा भएको आक्रमण र बेल्जियममा हमला गर्ने योजनाबीच सम्बन्ध रहेको प्रमाणित भैसकेको छैन।

तर फ्रान्सका प्रधानमन्त्री म्यानुअल भाल्सले दुवै देशले एउटै खतरा सामना गर्नुपरिरहेको बताएका छन्।

पेरिस हमलामा संलग्न रहेको आशंकामा १२ जनालाई गिरफ्तार गरिएको छ।

पछिल्ला घटनाहरुले अतिवादी इस्लामवादीहरुबाट रहेको खतराबारे अझ सजग हुनुपर्ने देखाएको ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले बताएका छन्।

"यसले हाम्रा खुफिया तथा सुरक्षा निकायहरुले अझ मिलेर काम गर्नु पर्ने देखाउँछ, हामीले अत्यन्तै सतर्क रहनु पर्छ र यसलाई पराजित गर्न हामीले सबै आवश्यक कदम चाल्नुपर्छ," क्यामरनले बताए।

परिचालन

त्यस यता फ्रान्समा उच्चतम सतर्कता अपनाइएको छ र झन्डै १ लाख २० हजार प्रहरी र सैनिकहरु परिचालन गरिएको छ।

फ्रान्स र बेल्जियममा भएका घटनाको प्रभाव अन्य छिमेकी राष्ट्रहरुमा पनि परेको छ।

पेरिस हमलाको केही दिन अघि एक जना हमलाकारीले म्याड्रिडको भ्रमण गरेको बारे स्पेनले अनुसन्धान गरिरहेको छ।

शुक्रबार गरिएको खानतलासीका क्रममा जर्मनीका प्रहरीहरुले २ जना पुरुषलाई गिरफ्तार गरेका छन्।

ती मध्ये एकले टर्किश र रुसी मूलका मानिसहरु आबद्ध उग्रवादी समुहको नेतृत्व गरिरेको ठानिएको छ।

प्रहरीले उक्त समुहले सिरियामा हिंसात्मक गतिविधि गर्ने योजना बुनिरहेको तर जर्मनी भित्रै आक्रमण गर्ने तयारी गरेको कुनै संकेत नपाइएको जनाएको छ।