सन २०१४ : अहिलेसम्मकै सबभन्दा तातो

  • 17 जनवरी 2015
Image caption मान्छेका विभिन्न गतिविधिका कारण पृथ्वीको तापक्रम बढिरहेको वैज्ञानिकहरुको भनाइ छ

वैज्ञानिकहरुले भर्खरै विदा भएको सन २०१४ अहिलेसम्म रेकर्ड भएका मध्ये सबभन्दा तातो वर्ष भएको बताएका छन्।

अहिलेसम्मका पन्ध्र ताता वर्षहरु मध्ये यो शताब्दी शुरु भएपछिका १४ वर्ष सबै ताता वर्षमा गनिएका छन्।

अमेरिकी अन्तरिक्ष निकाय नासा र अमेरिकी नेशनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (नोआ)का अनुसन्धानकर्ताहरुको शुक्रबार प्रकाशित विश्लेषणले यो देखाएको छ।

यो वर्षको विश्वव्यापी तापक्रम ०.६८ सेल्सियस थियो जुन सरदर भन्दा ०.०७ले बढी हो।

श्रृंखला

गत महिना मात्रै विश्व मौसम संस्था द वर्ल्ड मेटेरोलोजीकल अर्गनाइजेशनले बितेका बाह्र महिना अहिलेसम्मकै ताता महिनाहरु हुनसक्ने अनुमान गर्दै तथ्यांकहरु सार्वजनिक गरेको थियो।

नासाको गोडार्ड इन्स्टीच्यूट फर स्पेस स्टडीजका निर्देशक ग्याभीन स्मीड्ट भन्छन् - यो ताता वर्षहरुको श्रृंखलामा पछिल्लो हो।

उनको भनाई छ, एक वर्षको मात्र तथ्यांक अस्तव्यस्त मौसमका कारण तलमाथि हुन सक्छ तर हरेक वर्ष यस्तै प्रवृत्ति चाहिँ जलवायु परिवर्तनकै कारण हो र त्यो मान्छेहरुका गतिविधिका कारण उत्सर्जन भएको हरित गृह ग्यासकै कारण हो।

नासा र अमेरिकी नेशनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन नोआले विश्वव्यापी तापक्रमको तथ्यांक राख्छन्।

त्यस्तै तथ्यांक संयुक्त अधिराज्यको मौसम विभागले पनि संकलन गर्छ।

आधार

यि तिनवटा निकायको तथ्यांकका आधारमा द वर्ल्ड मेटेरोलोजिकल अर्गनाइजेशनले विश्वव्यापी तापक्रमबारे गत डिसेम्बरमा प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको थियो।

डा स्मीड्टले सन्चारकर्मीहरुसँग भने दुइ थरी तथ्यांकले समुन्द्रहरु निकै तातो बनाएको देखायो।

यसले समुन्द्रको तापक्रम अहिलेसम्मकै तातो देखायो तर जमीनको तापक्रम भने त्यस्तो थिएन।

तर जमीन र पानी दुवैको तथ्यांक संयुक्त रुपमा विश्लेषण गर्दा सन २०१४ अहिलेसम्मकै सबभन्दा तातो वर्ष हुन पुगेछ।

नोआका निर्देशक थोमस कार्लले कार्यपत्र प्रस्तुत गर्दै भने विश्वको सबै भागले रेकर्ड तापक्रम देखाएको भने होइन।

कुनै भागको तापक्रम सरदर भन्दा कम थियो ।

तर जमीन र पानीको थुप्रै ठाउँको तापक्रम संयुक्त रुपमा विश्लेषण गर्दा सन २०१४ अहिलेसम्मकै तातो वर्ष बन्न पुगेको हो।

जवाफ

उन्नाइसौं शताब्दीमा वैज्ञानिकहरुले तापतक्रमको मापन गर्ने उपकरण प्रयोग गर्न थालेदेखिकै तथ्यांक उपलब्ध छन्।

अहिले त पृथ्वीको जल र स्थलमा राखेर तापक्रम नापिने मात्र होइन स्याटलाइटहरुले पृथ्वीका थुप्रै ठाउँको तापक्रम अनुगमन गर्ने गर्छन्।

लण्डन स्कुल अफ इकोनोमिक्सको जलवायु परिवर्तन अनुसन्धान केन्द्रका बब वार्ड भन्छन्, 'पछिल्लो तथ्यांकले विश्व्यापी ताक्रममा वृद्धि हुन रोकिएको छ भन्नेहरुलाई जवाफ दिएको छ।'

'विश्वभर अनेकौं प्रमाणहरुले देखाउँछन् पृथ्वी तात्दै गइरहेको छ र वायुमण्डलमा उत्सर्जित हरित गृह ग्यासका कारण जलवायुमा प्रभावित भएको छ।'

मार्गचित्र

अब नीति निर्माणकर्ता र अभियानकर्ताहरु यो वर्षको अन्त्यतिर प्यारिसमा आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु शीखर सम्मेलनमा केन्द्रित हुनेछन्।

त्यसबेला राष्ट्रहरु एकठाउँ आएर विश्वव्यापी जलवायु परिवर्तनलाई खतरनाक बन्न नदिन उत्सर्जन घटाउने मार्गचित्र तय गर्नेछन् भन्ने ठानिएको छ।

तर कैयौंले भने सन् २००९ मा कोपेनहेगनमा भएको त्यस्तै सम्मेलनले जाहेर गरेको प्रतिबद्धता धेरै भएपनि अन्त्यमा केहि दिन नसकेको भन्दै आलोचना गर्छन्।