'दोस्रो संविधानसभालाई बिफल नबनाऊ'

  • 17 जनवरी 2015
Image caption दलहरुबीच पछिल्लो समय दुरी बढ्दै गएको देखिएको बेला राष्ट्रपतिले उनीहरुलाई छलफलका लागि बोलाएका हुन्।

संविधान जारी गर्ने म्याद एक साता भन्दा कम समय बाकिँ रहँदा राष्ट्रपति रामवरण यादवले शनिबार सत्तापक्षीय र विपक्षी दुबैथरी दलका नेताहरुलाई भेटी दोस्रो संविधानसभालाई पहिलो जस्तो विफल हुन नदिन आव्हान गरेको राष्ट्रपतिका प्रेस सल्लाहकारले बताएका छन्।

म्याद साँघुरिँदै गएको बेला दलहरु सहमतिलाई नै निरन्तरता दिने कि प्रकृयाबाट संविधान जारी गर्ने भन्ने आआफ्नै अडानमा रहँदा राष्ट्रपतिले दुवै पक्षका नेतासंग शनिबार अलग अलग भेटेका थिए।

सत्तापक्षिय र विपक्षी दलहरुबिच विवाद चर्कदै गैरहेका बेला राष्ट्रपति रामवरण यादवले नेताहरुलाई मिलेर अघि बढन आग्रह गरेका हुन्।

ती छलफलहरुमा दुवै पक्षले सहमति जुटाउन भैरहेका प्रयासबारे जानकारी गराएका थिए।

बिफल

ति भेटघाटबारे राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले भने, "अघिल्लो संविधानसभालाई जस्तो यसलाई असफल बन्न दिनुहुँदैन, संविधान बनाउनको लागि एउटा एकतिर एउटा अर्कोतिर नलागि सबै एक ठाउँमा हुनुपर्छ भन्न उहाँले बोलाउनुभएको थियो।"

सत्ताधारी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीले संविधान निर्माणमा भएका प्रयासहरुबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

विवादित बिषयहरुलाई माघ ८ सम्म मस्यौदा समितिमा पठाउन आफूहरुले पहल गरिरहेको उनीहरुको भनाई थियो।

भेटमा सहभागी कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, "संविधानसभामा पेश भएको संवाद समितिको प्रतिवेदनलाई टुंग्याएर ८ गते अगाडि नै मस्यौदा समितिमा पठाउन हामी क्रियाशिल छौं भनेर हामीले राष्ट्रपतिलाई प्रष्ट भन्यौं।"

सत्ताधारी दलका नेताहरु फर्किए लगतै शितल निवास पुगेका विपक्षी एकिकृत माओवादी र तराइकेन्द्रित दलका नेताहरुले संख्याको आधारमा नभइ सहमतिकै आधारमा अघि बढनुपर्ने धारणा राखेका थिए।

यसअघी सभाध्यक्ष सुवास नेम्वाङको अग्रसर्तामा सतारुढ र विपक्षी दलहरुले आज पनि छलफल गरेका थिए।

दलीय वार्ता सकारात्मक रुपमा अघि बढेको भनिएपनि संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथीको छलफल सकिएपछि कसरी अगाडी बढ्ने भन्नेमा अझै अन्यौल कायम छ।