कार्टुन प्रकाशनको विरोधमा हिंसात्मक प्रदर्शन

  • 18 जनवरी 2015
Image caption प्रदर्शनकारीहरुले सडकहरुमा राखिएका अवरोधहरुमा पनि आगजनी गरेका थिए

पैगम्बर मुहम्मदको कार्टुन प्रकाशनको विरोधमा निजरमा दोस्रो दिन गरिएको प्रदर्शनका क्रममा पाँच जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

नियामेमा कम्तीमा ७ वटा चर्चहरुमा आगजनी गरिएको छ।

कार्टुनको विरोधमा जारी दोस्रो दिन प्रदर्शनका क्रममा चर्चहरुमा आगजनी गरिएको हो।

शुक्रबार भएको प्रदर्शनका क्रममा दोस्रो ठूलो शहर जिन्दरमा चार जनाको ज्यान गएको थियो।

आक्रोश

विश्वभर दशौं हजार मानिसहरु शार्ली एब्दोको विरोधमा उत्रिका छन्।

निजरको राजधानी नियामेका सडकहरुमा आक्रोश देखिएको छ।

आक्रोशित भीडले ईश्वर महान छन् भन्दै चर्चहरुमा आगजनी गरेको थियो।

प्रदर्शनकारीहरुले फ्रान्सको झण्डा जलाउनुका साथै सडकमा राखिएका अवरोधहरुमा आगजनी गरेका थिए।

शार्ली एब्दोले पैगम्बर मुहम्मदको कार्टुन छापेको विरोधमा लगातार द्रोस्रो दिन त्यहाँ प्रदर्शन भएको हो।

दंगा प्रहरीले शहरको मुख्य चर्च कथिड्रललाई सुरक्षा दिएको थियो र भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो।

तस्वीर कपीराइट AFP
Image caption ग्राण्ड मोस्क अगाडि प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको थियो

निजरको छिमेकी मुलुक अल्जेरियामा एक फ्रेन्च फोटोग्राफरमाथि आक्रमण भएको छ।

अपमान

आक्रमणबाट उनी घाईते भएको बताईएको छ।

राजधनी अल्जियर्समा भएको प्रदर्शनका क्रममा कयौं प्रहरीहरु घाईते भएका छन्।

यसअघि फ्रान्सको उपनिवेश रहेको अर्को मुलुक मौरिटानियामा प्रदर्शनकारीहरुले फ्रेन्च झण्डा जलाएका थिए।

मालीका प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण प्रदर्शन गरेको बताईएको छ।

अफ्गानिस्ताको पाक्टिका प्रान्तमा सयौं मानिसहरुले प्रदर्शन गरेका छन्।

अफ्गान राष्ट्रपति अशरफ गनीले पैगम्बर मुहम्मदको कार्टुनबाट इस्लाम धर्मको अपमान भएको बताएका छन्।

रुसको उत्तरी कोकससमा १५ हजार मानिसहरुले प्रदर्शन गरेका छन्।