'संविधानसभाको निर्णय अनुसार प्रक्रिया अघि बढ्ने'

  • 19 जनवरी 2015
Image caption संवाद समितिको प्रतिवेदनमाथि यसअघि पाँच पटकसम्म संविधानसभामा छलफल भईसकेको छ

संवाद समितिको प्रतिवेदनमाथि आईतबार छलफल सकिएपछि अबको प्रक्रिया कसरी अगाडि बढ्ने भन्नेबारे सोमबारको संविधानसभा बैठकपछिमात्रै टुंगो लाग्ने दलहरुले बताएका छन्।

सहमति हुन नसके विमतिका विषयमा प्रश्नावली बनाउन छुट्टै टोली बनाउने तयारी सत्तापक्षीय दलहरुले गरिरहेको भन्ने खबर आईरहँदा उनीहरुले भने आइतबारको छलफल सहमतिउन्मुख देखिएकाले सहमतिकै प्रयत्नमा केन्द्रित हुने बताएका हुन्।

सोमबार बिहान सत्तापक्षीय र विपक्षी दलहरुको संयुक्त बैठकले प्रयास गर्ने र नभए संविधानसभा अध्यक्षले दिने निर्णयकै आधारमा अघि बढ्ने उनीहरुको भनाई छ।

संविधान जारी गर्ने म्याद जम्मा चार दिनमात्रै बाँकी रहँदा संविधानका अन्तरवस्तुबारे संवाद समितिले संविधानसभामा पेश गरेको छैठौं पटकको प्रतिवेदनमाथि आईतबार छलफल सकिएको हो।

पर्खाई

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले भने, "शनिबारबाट शुरु भएको छलफलको क्रम सकियो, अब कसरी अगाडि बढ्ने भनेर सोमबार परामर्श समितिको बैठक बोलाइएको छ, त्यसैमा १ बजेको संविधानसभाको बैठकले के गर्ने भन्ने निर्णय लिन्छ।"

उक्त छलफल सकिँदा समेत दलहरुका बैठकले विवादित विषयमा सहमति जुटाउन सकेका छैनन्।

सहमति नभए विमतिका विषयमा प्रश्नावली बनाएर अगाडि बढ्ने प्रस्ताव सत्तापक्षीय दलहरुले राख्दै आएका छन्।

तर आईतबार मुख्य चार विवादित विषयहरुमध्ये सबैभन्दा जटिल मानिएको राज्य पुनर्संरचनामा सीमांकन र नामांकनको विषय मिलाउन दलहरु केही सकारात्मक देखिएकाले उक्त प्रस्तावलाई सोमबारको संविधानसभाको बैठकसम्म कुर्ने सत्तापक्षीय दलहरुले बताएका छन्।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने, "आईतबार छलफल सकिएपछि लगत्तै अब प्रस्ताव कमिटी बनाएर प्रकृया अगाडि बढाउने भन्ने थियो, तर आईतबारको दलहरुको बैठक सकारात्मक भएपछि सोमबारको संविधानसभाको बैठकपछि मात्रै आवश्यक निर्णय गर्ने भन्ने भएको छ।"

चासो

विपक्षी दलहरुले भने प्रकृयामा नभइ विवादित विषयमा सहमति खोज्नमै ध्यान केन्द्रित भईरहेको बताएका छन्।

एकीकृत माओवादीका एकजना नेता नारायणकाजी श्रेष्ठले भने, "अन्तरवस्तु पहिलाभन्दा थप सहमति भएको छ, तर सबै विषयमा एकैपटक सार्वजनिक गरौं, किनभने सहमतिका विषय बाहिर लाने बित्तिकै विभिन्न खाले कुरा भईहाल्छन्।"

विगतका थुप्रै बैठकहरुमा विवादित विषयमा सहमति नजिक पुगेको रटान लगाउँदै आएपनि कुनै निष्कर्ष ननिकालेका दलहरुले सोमबार नै कुनै चमत्कार गर्लान् भन्नेमा कतिपयको आशंका छ।

धेरैको ध्यान भने यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुसँग मस्यौदाको जिम्मा आफूलाई दिन आग्रह गरेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ कसरी पेश होलान् भन्नेमा देखिन्छ।