यमनमा हुथी विद्रोही र सेनाबीच भिडन्त

  • 19 जनवरी 2015
तस्वीर कपीराइट Reuters
Image caption यमनकी संचार मन्त्रीले देशमा सैनिक विद्रोहको प्रयास भएको बताएकी छिन्

यमनको राजधानी सानामा शिया हुथी विद्रोहीहरु र सेनाकाबीच ठूलो भिडन्त भएको छ।

शहरभरि गोली चलेको आवाज सुनिएको छ भने राष्ट्रपतीय प्रासाद नजीकै मोर्टारका गोलाहरु खसेका छन्।

यमनका सूचनामन्त्री नादिया अल सक्काफले सैनिक विद्रोहको प्रयास भएको भएतापनि राष्ट्रपति सुरक्षित रहेका तर राजधानीमा भद्रगोल मच्चिएको बताएकी छिन्।

हमला

सानामा भिडन्तले ठूलो रुप लिइरहेको र हुथी विद्रोहीहरु राष्ट्रपतीय प्रासाद तर्फ बढिरहेको भन्ने विवरणहरु आइरहंदा नयां संघर्षविरामको प्रयास भैरहेको पनि बताइएको छ।

पछिल्लो हिंसा सोमबार बिहानै भड्किएको थियो।

सरकारी अधिकारी र विद्रोहीहरुले त्यसका लागि एक अर्कालाई दोष दिइरहेका छन्।

प्रधानमन्त्रीको सवारी जत्थामा हमला भएको बताइएको छ भने संचार मन्त्रीले देशमा सैनिक विद्रोहको प्रयास भएको बताएकी छिन्।

सचांरमन्त्री सकाफका अनुसार विभिन्न तीनवटा समूहहरु- सरकारी सेना, हुथी विद्रोही र यमनका भूतपूर्व राष्ट्रपति अली अब्दुल्लाह सलेहप्रति वफादार सैनिकहरुले शहरका विभिन्न भागमा कब्जा जमाइरहेका छन्।

विरोध

उनले त्यहाँ दिनको अन्त्य हुँदासम्म नयाँ यमनको उदय हुनसक्ने बताएकी छिन्।

त्यस अघि सबैपक्षबीच युद्धविरामको सहमति भएको थियो, तर त्यो लागू हुन सकेन।

पछिल्लो भिडन्त हुथीहरुले कडा विरोध गरेका नयां संविधानको मस्यौदा प्रकाशित गरेपछि शुरु भएको हो।

सुन्नी मुसलमानहरुको बाहुल्य रहेको यमनमा एउटा शिया समूह हुथीले गत सेप्टेम्बर महिनामा राजधानी सानाको ठूलो हिस्सा कब्जामा लिएको थियो।