बन्दका क्रममा तोडफोड, केही बन्दकर्ता पक्राउ

  • 20 जनवरी 2015
तस्वीर कपीराइट Riva Bhattarai BBC
Image caption बिहानसम्म ५ जिल्लामा यातायात साधनमाथि तोडफोड गरिएको प्रहरीले बताएको छ

एकीकृत माओवादी सहितको विपक्षी मोर्चाले गरेको आमहडतालका क्रममा देशका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन तोडफोड गर्ने बन्दकर्ताहरुलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता माधव प्रसाद जोशीका अनुसार बन्दकर्ताहरुले काठमाण्डू, ललितपुर, मकवानपुर, झापा र चितवनमा २० वटा गाडीहरुमाथी तोडफोड र आगजनी गरेका छन्।

बन्दमा हिंसात्मक गतिविधि गर्न खोज्ने १९ जनालाई राजधानी र उपत्यका बाहिरका जिल्लाहरुबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

काठमाण्डूमा बन्दकर्ताहरुले सडकका चोकहरुमा जम्मा भएर प्रदर्शनहरु गरिरहेका छन् जसका कारण मुलबाटोमा सार्वजनिक सवारी साधनहरु गुड्न सकिरहेका छैनन्।

एकीकृत माओवादीको नेतृत्वमा रहेको ३० दलिय मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र पदमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजाती राष्ट्रिय आन्दोलन समितिले नयाँ संविधानमा पहिचान सहितको संघीयता सुनिश्चित गरिनुपर्ने माग गर्दै बन्दको आव्हान गरेको हो।