बन्धकलाई बचाउने प्रधानमन्त्री आबेको बाचा

  • 20 जनवरी 2015
तस्वीर कपीराइट
Image caption प्रधानमन्त्री आबेले जापानले आतंकवादविरुद्ध लड्न मध्यपूर्वका देशहरुलाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताएको छ।

इस्लामिक स्टेट विद्रोहीले एक भिडियो सार्वजनिक गर्दै दुइ जापानी बन्धकलाई मुक्त गर्न फिरौति माग्नुलाई जापानी प्रधानमन्त्री शिन्जो आबेले अक्षम्य भनेका छन्।

उक्त भिडियोमा विद्रोहीले छुरी देखाएर धम्कीको शैलीमा फिरौति रकम मागेका छन् भने बन्धक सैनिक ठेकेदार र पत्रकारलाई घुँडा टेकाइएको छ।

उनीहरु अघिल्लो वर्ष अपहरणमा परेका थिए।

प्रधानमन्त्री अबेले विद्रोही समूहको माग अनुसार बन्धकहरुको रिहाइका लागि २० करोड डलर फिरौति रकम दिन अस्वीकार गरेका छन्।

बाचा

जापानले गत साता इस्लामिक स्टेट विद्रोहीहरुविरुद्ध लडिरहेका देशहरुलाई २० करोड डलर सहयोग गर्ने बताएको थियो।

भिडियोमा विद्रोहीले जापान सरकारले घोषणा गरेको उक्त रकमको आलोचना गरेका छन्।

प्रधानमन्त्री आबेले जेरुसलेममा भएको पत्रकार सम्मेलनमा बोल्दै आतंककारीहरुविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायले मिलेर काम गर्नुपर्ने बताएका छन्।

उनले विद्रोहीहरुको धम्की अस्वीकार्य भएको भन्दै बन्धकलाई बचाउने बाचा गरे।

प्राथमिकता

उनले आतंकवादविरुद्ध नझुक्ने भन्दै बन्धकको जीवन रक्षा आफ्नो सबैभन्दा प्राथमिकतामा रहने बताएका छन्।

जापानको विदेशमन्त्रालयले उक्त भिडियोको पुष्टी गर्ने कार्य भइरहेको बताएको थियो।

मध्यपूर्वको ६ दिने भ्रमणमा रहेका प्रधानमन्त्री आबे बन्धकहरुको त्यस्तो भिडियो सार्बजनिक भएपछि बाकिँ दिनको भ्रमण छोट्याएर जापान फर्कने अपेक्षा गरिएको छ।