वितण्डाबारे विपक्षीले आत्मालोचना गर्नुपर्ने माग

  • 21 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption विपक्षीहरुले जतिसुकै अवरोध गरे पनि संविधान निर्माणको प्रक्रियालाई अघि बढाइने सत्तारुढ दलहरुले बताएका छन्

संविधानसभामा एकीकृत माओवादी लगायत विपक्षीहरुको अवरोध जारी रहे त्यसको सामना गरेर भएपनि संविधान निर्माण गर्न आफूहरु दृढ रहेको प्रमुख सत्तारुढ दलहरुले बताएका छन्।

नेपाली कांग्रेसका एकजनानेताले एकीकृत माओवादीले संसदमा गरेको वितण्डाबारे आत्मालोचना नगरे उसँग वार्तामै नबस्ने बताएका छन्।

सोमबार र मंगलबार एकीकृत माओवादी नेतृत्वको मोर्चाले संविधानसभामा अवरोध जारी राखेपछि स्थगित भएको संविधानसभाको बैठक बुधबार पुनः बस्दैछ।

बहुमतको आधारमा कुनै पनि हालतमा संविधान बन्न नदिने अडानमा एकीकृत माओवादी छ भने अवरोध जारी रहे सत्तारुढ दलहरुले त्यसलाई जसरी पनि चिरेर अघि बढ्ने योजनामा रहेको देखिन्छन्।

अवरोध

एमाले उपाध्यक्ष भीम रावलले भने, “भौतिक रुपमा अवरोध भएपनि नियम, कानुन र प्रक्रियाबाट हामीलाई कुनै अवरोध छैन्, अब उहाँहरुको भौतिक अवरोधबीच कसरी जाने भन्ने विषयमा छलफल हुँदैछ, हामी नियमावली अनुसार संविधान निर्माणको प्रक्रिया अघि बढाउन एकदमै कटिबद्ध छौं।”

संविधानसभा नियमावलीको नियम ९१ अनुसार संविधानसभाको कार्यमा सहयोग गर्न सभाको अनुमति लिई अध्यक्षले समिति गठन गरी कार्यक्षेत्र तोक्न सक्ने प्रावधान छ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सोमबार प्रश्नावली समिति गठन गर्न खोज्दा नै संविधानसभाभित्रै भिडन्त शुरु भएको थियो।

प्रक्रिया

तर यस्ता अवरोधका बावजुद नियम ९१ लाई टेकेर प्रक्रियामा जान दृढ देखिएका सत्तापक्षका नेताहरु विपक्षीहरुसँग वार्ता समेत नगर्ने मनस्थितिमा देखिएका छन्।

कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भने, “संविधानसभामा उहाँहरुले गर्नुभएको गतिविधको गल्ती महसुस नगरुञ्जेल र संविधानसभाको काम कारवाही अगाडि बढ्न नदिएसम्म उहाँहरुसँग कुनै कुरा गर्नुको अर्थ देख्दिन्न।”

संविधान जारी गर्ने मिति माघ ८ अर्थात बिहिबारसम्ममा सहमति गर्ने रटान लगाउँदै आएका सत्तारुढ र प्रतिपक्षी दलहरुबीच ध्रुवीकरण बढ्दै जादा देशमा पुनः द्वन्द्व निम्तिने हो कि भन्ने आशंका बढ्दै गएको देखिएको छ।