संविधानसभामा विपक्षीद्वारा तोडफोड

  • 20 जनवरी 2015
तस्वीर कपीराइट bbc

सोमबार झण्डै मध्येरातमा संविधानसभा भवनभित्र प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी लगायतका विपक्षी सभासद्हरुद्वारा गरिएको तोडफोड र आक्रमणको घट्नापछि राजनीतिले कुन मोड लिन्छ भन्ने अन्योल सृजना भएको छ।

सभाध्यक्षले नेपाली कांग्रेसका मुख्य सचेतकलाई प्रश्नावली निर्माण समितिसम्बन्धी प्रस्ताव राख्न समय दिएपछि संविधानसभामा नाराबाजी र तोडफोड भएको थियो।

सत्तापक्ष सहमतिको प्रयाससँगै संविधानसभाबाटै संविधान जारी गर्ने अडानमा छ।

प्रमुख दलहरुबीच करिब-करिब सहमति भएको खबरका माझ सोमबार दिन ढल्किंदै जाँदा भने एकअर्काका हठका कारण सहमति हुन नसकेको भन्दै एकीकृत माओवादी र सत्तापक्षका आरोप-प्रत्यारोप सुनिन थालेका थिए।

'लाजलाग्दा दृश्य'

त्यसमाझ संविधानसभा बैठक अबेर राति शुरु भयो।

मंगलबार ब्युँझिदा सर्वासाधारणले भने संविधानसभामा आफूले चुनेर पठाएका प्रतिनिधि तोडफोडमा उत्रिएका कतियका शब्दमा लाजलाग्दा क्रियाकलापका दृष्य टिभी र पत्रिकामा हेर्न पाए।

एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले घट्नाको जिम्मेवारी सभाध्यक्षले लिनुपर्ने प्रतिक्रिया दिए।

उनले भने, “त्यो युगान्तकारी परिवर्तनको विरुद्धमा छ, मधेश आन्दोलनको विरुद्धमा छ, त्यसकारण स्वाभाविक ढंगले उत्पीडित समुदायका प्रतिनिधिहरुले आक्रोश प्रकट गरेका छन्।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अनुसार उनको छातीमा माइक प्रहार भएको थियो।

तस्वीर कपीराइट Balkrishna Thapa

बाहिर निस्किएर संचारकर्मीहरुसँग उनले भने, “जनताका सर्वोच्च प्रतिनिधिहरु बस्ने, छलफल गर्ने सभ्य, सुसंस्कृत, परिमार्जित, परिस्कृत थलो हो (संविधानसभा), कस्ता मान्छेहरु आएका रहेछन्?”

सहमति

उक्त घट्नापछि सत्ता र विपक्षी दल सहमति गर्न फेरि संगै बस्लान्?

ओली भन्छन्, “उग्रपन्थीहरुलाई १२ बुंदे सहमति गर्दा-गर्दै यहाँसम्म ल्याईयो, सम्झाउने बुझाउने हाम्रो काम जारी रहन्छ।”

तर सहमतिको प्रयाससँगै शुरु भएको प्रकृया भने नरोकिने सत्तापक्षको भनाई छ।

घट्नापछि कांग्रेस उपसभापति रामचन्द्र पौडैलले भने, “मैले भन्न बाध्य हुनुपरेको छ, प्रचण्डले यो संविधानसभा भनेको हाम्रो रणनीति मात्र हो भन्नुभएको थियो, आज यो कुरा सिद्ध गरिएको छ, बलमिच्याईं गरेर संविधानसभालाई सधैं बन्धक बनाउन पाईंदैन, संविधानसभाले आफ्नो निर्णय गर्नुपर्छ र गर्छ, हामी असफल र नालायक सिद्ध हुन तयार छैनौं।”

सभामुखले प्रकृयाको चरण थाल्नुअघि संविधानसभालाई एमाओवादी नेता बाबुराम भट्टराईले सम्बोधेन गरेका थिए।

तस्वीर कपीराइट Balkrishna Thapa

उनले प्रकृया थालिने खबरहरु सुनेको बताउँदै भनेका थिए, “त्यसले अब यो संविधानसभालाई दुई भागमा विभाजित गर्ने र कहिल्यै मिल्नै नसक्ने अन्ततः आफ्नै अवसानतिर लिएर जाने बाटो खोल्न सक्छ।”

अवसान

संविधानसभाको अवसानको उनको चेतावनीपछि भएको घट्नापछि स्वाभाविक प्रश्न उठेको छ। अब संविधानसभाबाट कसरी संविधान आउला?

घट्नाको भर्त्सना गरेका सभाध्यक्ष सुवास नेम्वाङ् नै अनुत्तरित थिए।

उनले भने, “मैले उहाँ लगायत सबैसंग छलफल गर्ने हो, उहाँहरुलाई मैले पनि सोध्ने हो यसरी कसरी संविधान बन्छ?”

घट्नामा कुर्सी र माइक तोडफोड भएका छन् भने रोक्न खोज्ने तीनजना मर्यादापालक घाइते भएका छन्।

उनीहरुलाई अस्पताल भर्ना गरिएको संविधासनभा सचिवालयले जनाएको छ।