'संविधान जारी गर्ने नयाँ मिति तय गर'

  • 21 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption विपक्षी सभासदहरुले सोमबार मध्यरात संविधानसभाको बैठकमा तोडफोड गरेका थिए

माघ ८ गतेको समयसीमा गुज्रने अघिल्लो दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अब संविधान जारी गर्ने नयाँ मिति जनतासामु प्रस्तुत गर्न दलहरुलाई आग्रह गरेका छन्।

संविधान जारी गर्न दलहरु स्वयंले निर्धारण गरेको माघ ८ गतेको समयसीमा गुज्रने अघिल्लो दिन उनले आफ्नो भूमिका सहजकर्ताको मात्र भएको भन्दै सत्तापक्ष र विपक्षी नेताहरुबीच देखिएको सवांदहीनता तत्काल अन्त्य हुनुपर्ने बताए।

बुधवार संयुक्त विज्ञप्ती जारी गर्दै नेपालस्थित कूटनीतिक समुदायका प्रतिनिधिहरुले दलहरुलाई हालैका दिनमा देखापरेको तनावपूर्ण सम्बन्ध अन्त्य गर्न आह्वान गरेका छन्।

विपक्षी सभासदहरुको अवरोधपछि संविधानसभाको बैठक बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको छ।

रुलिङ्ग

आफैँले तोकेको माघ ८ गतेको म्याद भित्र संविधान जारी गर्न विफल भएकोबारे जनतालाई जवाफ दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बुधबार बसेको संविधानसभाको बैठकमा रुलिङ्ग गरेका थिए।

विपक्षी मोर्चाले लगातार तेस्रो दिन उक्त बैठक अवरुद्ध पारेका थिए।

आफ्नो रुलिङ्गको व्यख्या गर्दै नेम्वाङले बीबीसीसँग भने, “भोलि ८ गते आइसक्यो, दलहरुले यसलाई लिएर आफ्नो कुरा जनतामा राख्नुपर्छ। दलहरुले यसरी हामी अघि बढ्छौँ, यसरी संविधान अब यो समयसम्ममा ल्याउन सक्छौँ, ल्याउँछौँ भनेर जनतालाई भन्नुपर्छ।”

विपक्षी सभासभदहरुको अवरोधका कारण संविधानका विवादित विषय बहुमतीय प्रकृयाबाट टुंग्याउन प्रश्नावली निर्माण गर्न समिति गठन गर्ने प्रस्ताब संविधानसभामा प्रस्तुत हुन सकिरहेको छैन।

उक्त प्रश्नावली समितिमा संविधानसभामा रहेका सबै दलको प्रतिनिधित्व रहने भन्दै नेम्वाङले सो समिति गठन गर्ने विषयलाई लिएर विवाद नगर्न दलहरुलाई आग्रह गरेका छन्।

अपिल

आफ्नो भूमिका सहजकर्ताको मात्र रहेको भन्दै उनले संविधानसभामा हाल देखिएको अवरोध दलहरुले नै सहमति कायम गरी अन्त्य गर्नुपर्ने बताए।

उनले भने, “संविधानसभाको बैठक कहिल्यै पनि अवरुद्ध हुनुहुँदैन। यो संसद होइन, त्यसकारण मेरो के अनुरोध छ भने यो अवरोधलाई तत्काल अन्त्य गरौँ र अघि बढौँ।”

सोमबार मध्यरात जबरजस्ती प्रकृया अघि बढाउन खोजेको भन्दै विपक्षी सभासदहरुले संविधानसभाको बैठकमा तोडफोड गरेका थिए।

त्यसपछि हालैका दिनमा सत्तापक्षीय र विपक्षी दलहरु बीचको सम्बन्ध चिसिँदै गएको छ।

यही मेसोमा नेपालस्थित अन्तर्राष्ट्रिय समुदायका तर्फबाट संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जेम्मी म्याकगोल्डरिकले बुधबार एउटा वक्तव्य जारी गर्दै तनावपूर्ण अवस्था अन्त्य गरी सबै दलहरुलाई वार्ताको टेबुलमा फर्कन आह्वान गरेका छन्।

समावेशी संविधान जारी गर्न आफ्ना प्रयासहरु दोब्बर पार्न आग्रह गरिएको उक्त वक्तव्यमा राजनीतिक दलहरुलाई नेतृत्व प्रदर्शन गर्न र आफ्नो ऐतिहासिक जिम्मेवारी पुरा गर्न अपिल गरिएको छ।