संविधानसभामा फेरि नाराबाजी

  • 22 जनवरी 2015
संविधानसभा भित्र तोडफोड तस्वीर कपीराइट bbc
Image caption तोडफोडमा करिव ३० लाख रुपैंया बराबरको धनमालमा क्षति भएको अनुमान छ

एकीकृत नेकपा माओवादी लगायतका सभासदहरुले संविधानसभाको बैठक शुरु हुना साथ नाराबाजी गर्दै बैठक चल्न दिएका छैनन्।

बिहान ११ बजे शुरु हुने भनिएको संविधानसभाको बैठक दिउसो साढे १२ बजे शुरु भएको हो।

संविधान जारी हुने भनिएको दिन आज संविधानसभाभित्र र बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हाम्रा सम्बाददाताले बताएका छन्।

विपक्षी दलका सभासदहरुले त्यसप्रति असन्तु्ष्टी प्रकट गरेका छन्।

संविधानसभा परिसर प्रवेश गर्दा सभासदहरुको समेत शरीर खानतलासी गरिएको थियो।

आपत्ती

बैठक कक्षभित्र विपक्षी सभासद बस्ने कुर्सीहरुमा राखिएको माइक झिकिएको भन्दै विपक्षी एकीकृत माओवादी र मधेसी मोर्चा आबद्ध सभासदहरुले आपत्ती जनाएका थिए।

एमाओवादी सभासद अग्नी सापकोटाले भने, “संविधानसभालाई जेल बनाउन खोजिएको छ, यसप्रति हाम्रो आपत्ती छ।”

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले वैठक कक्षमा केही पोका खोर्सानीको धुलो भेटिएको बताए।

सोमबार मध्यरातमा विवादित विषयहरुको प्रश्नावली बनाउने तयारी शुरु हुन लागेपछि संविधानसभाभित्र विपक्षी दलका सभासदहरुले तोडफोड गरेका थिए।

त्यसक्रममा करिव ३० लाख रुपैंया बराबरको नोक्सानी भएको सचिवालयको अनुमान छ।

माघ ८ गतेको समयसीमा गुज्रने अघिल्लो दिन बुधबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अब संविधान जारी गर्ने नयाँ मिति जनतासामु प्रस्तुत गर्न दलहरुलाई आग्रह गरेका थिए।

उनले सत्तापक्षीय र विपक्षी नेताहरुबीचको सवांदहीनता तत्काल अन्त्य हुनुपर्नेमा जोड दिएका थिए।

तर दुबै पक्षले आ, आफ्ना अडान छोड्ने कुनै संकेत दिइसकेका छैनन्।