छिट्टै संविधान जारी हुन्छ: प्रधानमन्त्री

  • 23 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption सत्ता आफ्ना लागि गौण भएको भन्दै उनले संविधान जारी गर्न कटिबद्ध रहेको बताए।

प्रधानमन्त्री सुशील कोइरालाले तोकिएको समयभित्र संविधान जारी गर्न नसक्नुमा विपक्षी दलहरु जिम्मेवार रहेको बताउँदै संविधान ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन्।

शुक्रबार अबेर देशवासीका नाममा गरिएको सम्बोधनमा उनले माघ ८ गते नै सहमतिमा संविधान जारी गर्ने आफ्नो प्रतिबद्धता सफल हुन नसकेको भन्दै दुखमनाउ गरे।

अन्तर्राष्ट्रिय समुदायले पछिल्ला दिनमा दलीय सहमतिमा जोड दिइरहँदा प्रधानमन्त्रीले नेपाल आफ्नै लोकतान्त्रिक अनुभव र अभ्यासबाट अघि बढ्ने कुरा बुझिदिन उनीहरुलाई आग्रह गरेका थिए।

झन्डै एक वर्ष अघि प्रधानमन्त्री भए लगत्तै माघ ८ भित्र संविधान जारी गरेर आफ्नो पद छोड्ने वाचा गरेका प्रधानमन्त्री कोइरालाले उक्त प्रतिबद्धता पुरा गर्न नसकेपछि शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरेका हुन्।

मर्माहत

आफुले सबैलाई समेटेर सहमतिमै संविधान जारी गर्ने पहल गरेपनि त्यो सफल नभएकोमा आफु मर्माहत भएको उनले बताए।

कुनै दलको नाम उल्लेख नगरिकनै मुख्य प्रतिपक्षी दल एकीकृत माओवादी नेतृत्वको मोर्चाले संविधानसभाभित्र र बाहिर आमहड्तालमार्फत विरोध जनाउँदै आएको प्रति उनले असन्तुष्टि पनि व्यक्त गरे।

कोइरालाले भने, “बहुसंख्यक नेपाली जनताको चाहनालाई हामी उग्र, अराजक, अलोकतान्त्रिक व्यवहारको निशाना बन्न दिने छैनौं भन्ने दृढता व्यक्त गर्न चाहन्छु।”

उनले लोकतान्त्रिक विधि र प्रकृयाबाट चाँडै संविधान बनाएर मुलुकलाई संक्रमणकालबाट मुक्त गर्ने प्रतिबद्धता पनि जनाए।

अनुरोध

पछिल्ला दिनमा भारत सहित अन्तर्राष्ट्रिय समुदायका तर्फबाट दलीय सहमतिमा विगतका सम्झौताहरुको कार्यान्वयन गर्दै संविधान जारी गर्नुपर्ने सुझावहरु आइरहँदा उनले नेपालको यथार्थलाई अन्तराष्ट्रिय समुदायले बुझिदिनुपर्नेमा जोड दिए।

उनले भने, “नेपालको राष्ट्रिय एकता, दीगो शान्ति र सहमतिको राजनीति हाम्रो आफ्नो लोकतान्त्रिक अभ्यास, अनुभव र प्राथमिकतामा अघि बढ्दछ र सुदृढ हुँदै जान्छ। यस यथार्थलाई बुझिदिन हुन हाम्रा मित्रहरुमा विनम्र अनुरोध गर्दछु।”

जनआन्दोलनमार्फत मिलेर हासिल भएका उपलब्धिलाई मिलेरै संस्थागत गर्ने प्रयासलाई विपक्षीहरुले कमजोरीको रुपमा लिएको भन्दै प्रधानमन्त्रीले जातीय तथा समाजिक सद्भावमा खलल पु-याउने गरी सम्झौता नगर्ने पनि बताएका थिए।