यूक्रेनमा रकेट हमलामा ‘१६ मारिए’

  • 24 जनवरी 2015
Image caption लडाईंहरुमा पाँच हजारले ज्यान गुमाइसके भने दश लाख बढी विस्थापित भएका छन्

पूर्वी यूक्रेनको मारियूपोल शहरमा रुस समर्थित विद्रोहीहरुले गरेको रकेट हमलामा परी १६ जना मारिएको अनि करिब ८० जना घाईते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

शहरको पूर्वमा रहेको आवासीय तथा बजार क्षेत्रमा रकेट प्रहार भएको प्रहरी प्रमुखले बताएका छन्।

विद्रोहीका प्रवक्ताले हमलामा आफ्नो कुनै हात नरहेको भन्दै आरोपलाई सरासर गलत प्रचार भनेका छन्।

डोनेत्स्कमा रहेको पत्रकार क्रिस्टोफर मिलर भन्छन् एक आवासीय भवन, पार्किंग गर्ने ठाउँ तथा व्यस्त बजारमा रकेट प्रहार भएका थिए।

लडाईं

गत अप्रिल महिनायता पूर्वी क्षेत्रहरुमा भएका लडाईंहरुमा परी पाँच हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

डोनेत्स्क तथा लुहान्स्क क्षेत्रका ठूला भूभाग विद्रोहीहरुले आफ्नो कब्जामा लिएका छन्।

दश लाख भन्दा धेरै मानिसहरु विस्थापित भएका छन्।

पूर्वी यूक्रेनका मुख्य रुस समर्थित विद्रोही नेता एजेक्जाण्डर जाखारचेन्कोले शुक्रबार आफ्ना लडाकूहरुले फौजी कारवाही गरिरहेको र कियभसंग युद्धविरामबारे वार्ता गर्न नचाहेको बताएका थिए।

मिन्सकमा गत सेप्टेम्बरमा युद्धविरामबारे सहमति भएको थियो तर त्यो कार्यान्वयन हुन सकेन।

कतिपयले त्यसले न्युन स्तरका वैमनस्य कायम राख्ने ठानेका थिए। तर बीबीसीका डेभिड स्टर्न भन्छन् हाल त्यहाँ गत गर्मी याममा देखिएको स्तरको लडाईं हुन थालेको छ।

मारियुपोलको जनसंख्या पाँच लाख रहेको छ। यो शहर निकै रणनीतिक भागमा रहेको छ। रुसले गत मार्चमा आफुमा विलय गराएको क्राइमिया र रुस समर्थित विद्रोहीहरुको कब्जामा रहेका पूर्वी क्षेत्रको बीच तिर यो शहर रहेको छ।

गएको अगष्ट महिनामा पनि उक्त शहरले लडाईं बेहोर्नुपरेको थियो।

यूक्रेन तथा उसका पश्चिमा सहयोगी देशहरुले पृथकतावादी विद्रोहीहरुका साथ रुसी सेनापनि लडाईंमा संलग्न रहेको आरोप लगाउने गरेका छन्।

तर मस्कोले चाहीं केवल रुसी स्वयंसेवीहरु मात्र त्यसमा संलग्न भएको बताउने गरेको छ।