'नयां समिति गठनको निर्णय फिर्ता गर'

  • 25 जनवरी 2015
ca तस्वीर कपीराइट bbc
Image caption आफ्नै पूर्वघोषणा अनुसार सभाध्यक्षले आइतबार प्रस्ताव समिति निर्माणको प्रस्ताव आफै प्रस्तुत गरेका थिए

भावी संविधानका विवादित विषयहरुको प्रश्नावली बनाउन नयां समिति गठन गरिएकोप्रति चर्को आक्रोश पोख्दै एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले त्यो निर्णय फिर्ता नभएसम्म सत्तारुढ घटक र सभाध्यक्षसंग कुनै वार्तामा नबस्ने चेतावनी दिएको छ।

अनेकौं अड्कलबाजीबीच सभाध्यक्ष सुवास नेम्वांगले आफ्नो पूर्वघोषणा अनुसार नै आइतबार सत्तारुढ कांग्रेस, एमालेसहितका दलका बहुमत सभासद्को समर्थनमा त्यस्तो समिति गठन गरेका थिए।

प्रस्ताव निर्माण समिति नाम दिइएको उक्त समितिको गठनसंगै अवरुद्ध संविधान निर्माण प्रक्रियाले गति लिने तर्क सत्तापक्षीय दलहरुले गरेका छन् भने विपक्षी मोर्चाले त्यसलाई मुठभेड निम्त्याउने मोडका रुपमा अर्थ्याएको छ।

आक्रोश

संविधानसभाभित्रको १९ दलीय विपक्षी मोर्चाको विरोधबीच नै सभाध्यक्षले प्रश्नावली बनाउने समिति गठन भएको घोषणा गरिदिएका थिए।

पूर्वघोषणा गरेजस्तो विपक्षी मोर्चाले सभाध्यक्षको उक्त कदमको संविधानसभाभित्र कडा प्रतिवाद त गरेन, तर बैठककक्षबाट बाहिरिनेवित्तिकै मोर्चाका नेताहरुले उनलाई आफ्नो आक्रोशको निशाना बनाए।

मोर्चा संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भने, “एउटा कुनै दलको कार्यकर्ता जसरी संविधानसभा अध्यक्ष प्रस्तुत हुनुभयो। त्यसले उहांको तटस्थता र गरिमा समाप्त पारेको छ। साथै संविधानसभाको औचित्यमाथि नै प्रश्न खडा गरेको छ”।

त्यस्तै आक्रोश विपक्षी मोर्चाले आइतबारै पत्रकार सम्मेलन र राजधानी काठमाण्डूका विभिन्न स्थानमा भएका विरोधमा पनि पोख्यो।

विरोधाभाष

पत्रकार सम्मेलनमा प्रचण्डले सभाध्यक्षको कदमलाई द्वन्द्व फेरि शुरु गर्ने मोडका रुपमा व्याख्या गर्दै त्यो फिर्ता नभएसम्म कुनै पनि वार्तामा नबस्ने चेतावनी दिए।

उनले भने,“जबसम्म यो निर्णय सच्चिदैंन। तबसम्म सरकार, सत्तारुढ घटकहरु र सभाध्यक्षसंग कुनै पनि वार्तामा नबस्ने निर्णय गरेका छौं”।

प्रचण्डले अब सडक तताउने संकेत गर्दै संविधानसभाबाहिरका दलसहितको ३० दलीय मोर्चाको सोमबार बस्ने बैठकबाट श्रृंखलावद्ध आन्दोलन तय गरिने बताए।

संगसंगै उनले आफूहरु संविधानसभाबाट नबाहिरिने प्रष्ट त पारे, तर उक्त मोर्चामै रहेका संविधानसभाविरोधी कतिपय दलसंगको गठजोडलाई भने धेरैले विरोधाभाषपूर्ण मानेको देखिन्छ।