ओबामा गणतन्त्र दिवस समारोहमा सहभागी

  • 26 जनवरी 2015
तस्वीर कपीराइट AFP
Image caption गणतन्त्र दिवसमा भारतको सैनिक शक्तिको झलकहरु देखाइएको थियो

तीन दिने भ्रमणमा आएका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बराक ओबामा नयां दिल्लीमा आयोजित भारतको गणतन्त्र दिवसको परेडमा सहभागी भएका छन्।

उनको उपस्थितिलाई ती दुई नेताहरुबीच बढ्दो निकटताको संकेतका रुपमा पनि हेरिएको छ।

आइतबार भएको वार्तापछि दुवै देशले एउटा महत्वपूर्ण सम्झौताको घोषणा गरेका थिए, जस अन्तर्गत अमेरिकी कम्पनीहरुले भारतलाई गैरसैनिक परमाणु प्रविधि आपूर्ति गर्न सक्नेछन्।

भारतीय प्रधानमन्त्रीले त्यस्तो सम्झौतालाई आपसी सहयोगको क्षेत्रमा नयां यात्रा भनेका छन्।

स्वागत

नयां दिल्लीमा हल्का बर्षात सहितको चिसो दिनमा आयोजित समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ओबामालाई वार्षिक सैनिक परेडमा प्रमुख अतिथिको रुपमा स्वागत गरेका थिए।

दिल्लीस्थित बीबीसीका सम्बाददाता संजोय मजुमदार भन्छन्, गणतन्त्र दिवसमा आयोजित समारोहमा नयां नयां अस्त्रहरुको प्रदर्शन सहित भारतको सैनिक शक्तिको झलक देखाइएको थियो।

दर्शकहरुमाथि हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने ब्रास ब्याण्डको तालमा नर्तकीहरुले नाच्दै अतिथिहरुको अगाडी मार्चपास्ट गरेका थिए।

आइतबार भारत आइपुगेका राष्ट्रपति ओबामा र प्रधानमन्त्री मोदीबीच प्रतिरक्षा र ब्यापारिक सम्झौताका बारे केही घण्टा वार्ता भएको थियो।

त्यसपछि बर्षौंको ढिलाइपछि दुई देशबीच गैरसैनिक परमाणु प्रविधिका बारे भएको सहमतिलाई एेतिहासिक भनिएको छ।

एउटा संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले आफूहरुबीच संयुक्त प्रतिरक्षा परियोजनाहरुमा मिलेर काम गर्ने र दुईपक्षीय व्यापारमा सुधार गर्ने सहमति भएको घोषणा गरेका थिए।