आउसवीट्जको ७० औं बर्षगाठ मनाइदैँ

  • 27 जनवरी 2015
तस्वीर कपीराइट
Image caption आउसवीट्जमा रहेको नाजी मृत्युशिविरलाई तत्कालीन सोभियत सैनिकहरुले ७० बर्षअघि मुक्त गराएको थिए

पोल्याण्डको आउसवीट्जस्थित नाजी मृत्युशिविरलाई तत्कालीन सोभियत सैनिकहरुले मुक्त गराएको ७०औं बार्षीकीको अवसरमा आयोजीत समारोहहरुमा सो शिविरबाट बांचेकाहरु र विश्व नेताहरु सहभागी भएका छन्।

उक्त नाजी शिविरका भूतपूर्व बन्दीहरुले सो स्थलमा भेला भएर पुष्प गुच्छाहरु चढाएका थिए।

त्यहां सहभागी हुनेहरुमा फ्रान्स र जर्मनीका राष्ट्रपतिहरु पनि छन्।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी छैनन्, उनको साटो उनको प्रशासन प्रमुखले सहभागीता जनाएका छन्।

समारोह

आउसवीट्ज नाजी शिविरबाट बचेका झण्डै तीनसयजना भूतपूर्व बन्दीहरुले उक्त शिविर रहेको स्थानमा भेला भएर त्यसको मुक्तीको ७० औं बर्षगांठ मनाएका हुन्।

ठूलो संख्यामा भूतपूर्व बन्दीहरु सहभागी भएर मनाइने यो नै त्यस्तो प्रकारको अन्तिम समारोह हुन सक्ने बताइंदैछ।

आउसवीट्जमा सन् १९४० देखि ४५ भित्र दशलाख भन्दा बढी मानिसहरुको ज्यान लिइएको थियो र ति मध्ये धेरै यहुदीहरु थिए।

उक्त शिविरमा पहिलो पल्ट प्रवेश गरेका सैनिक तथा पत्रकारहरुले त्यहां थकित र अत्यन्त दुब्लापातला मानिसहरुको भिड रहेको र लाशका डंगुरहरु फेला परेको बताएका थिए।

आउसवीट्ज-बिर्केनाउ नाजी शिविरलाई सोभीयत सेनाले सन् १९४५ को जेनुअरी २७ तारिखका दिन मुक्त गरेको थियो।

त्यसपछि सन् १९४७ मा त्यो स्थानलाई एउटा संग्रहालयका रुपमा परिवर्तन गरिएको थियो।