मितव्ययितासम्बन्धी प्रतिबद्धता नत्याग्न चेतावनी

  • 27 जनवरी 2015
तस्वीर कपीराइट AFP
Image caption नयाँ प्रधानमन्त्री एलेक्सिस त्सीप्रासले मितव्ययितासम्बन्धी कार्यक्रम अन्त्य गरिने बताउँदै आएका छन्

युरोपेली संघका नेताहरुले ऋण र मितव्ययितासम्बन्धी अघिल्लो सरकारका प्रतिबद्धताहरुबाट पछाडि नहट्न ग्रीसलाई चेतावनी दिएका छन्।

अघिल्ला सरकारको मितव्ययितासम्बन्धी कार्यक्रमको विपक्षमा रहेको सिरिजा पार्टीले नयाँ सरकार बनाएपछि युरो मुद्रा प्रचलनमा रहेको युरोजोनको स्थायित्वमाथि प्रश्न उठेको छ।

आमनिर्वाचनमा विजयी भएको ग्रीसको सिरिजा पार्टी अहिले मितव्ययितासम्बन्धी कार्यक्रम अन्त्य गर्ने र ऋणको भार खुकुलो पार्ने बहसको वरिपरि छ।

तर उसको नीति कर्जा प्रवाहकर्ता खासगरी जर्मनीका निम्ति स्वागतयोग्य हुनेछैन्।

सम्झौता

त्यसकारण ग्रीसको नयाँ सरकारले युरोजोनका बाँकी मुलुकहरुसंग कठिन वार्ता गर्नुपर्ने हुन्छ।

कुनै पनि पक्षले ग्रीसलाई छोड्न चाहेको देखिदैन।

त्यसकारण सम्झौतामा पुगिने देखिन्छ।

सिरिजा पार्टीको जीतले विभिन्न मुलुकहरुमा मितव्ययितासम्बन्धी सरकारी कार्यक्रमको विरोध गर्ने अभियानहरुलाई बल पुर्याएको छ।

युरोपेली संघका नेताहरुले ऋण र मितव्ययितासम्बन्धी अघिल्ला सरकारको प्रतिबद्धता नछाड्न ग्रीसमाथि दबाब बढाएका छन्।

चरम वामपन्थी दलका नेता एलेक्सिस त्सीप्रासले हिंजो मात्रै प्रधानमन्त्री पदको शपथ लिएका हुन्।

तर उनले अघिल्लो सरकारले लागु गरेको मितव्ययितासम्बन्धी कार्यक्रमको अन्त्य गरिने र ऋणबारे फेरि वार्ता गरिने बताएका छन्।

परिवर्तनकारी

तस्वीर कपीराइट getty
Image caption सिरिजा पार्टीको जीतले मितव्ययिता विरोधीहरुलाई बल पुगेको बताईएको छ

युरोपेली आयोगका प्रमुख जाङ क्लोह्ड युंकरले ग्रीसको कर्जा कटौती गर्ने आयोगको सोचाई नरहेको बताए।

जर्मन सरकारका प्रवक्ताले अन्तर्राष्ट्रिय कर्जासम्बन्धी सम्झौतामा ग्रीस अडिग रहनुपर्ने बताए।

मितव्ययितासम्बन्धी सरकारी कार्यक्रमको विरोध गर्दै आएका युरोपभरिका राजनीतिक दलहरुले ग्रीसको आमनिर्वाचनमा विजयी भएकोमा सिरिजा पार्टीलाई बधाई दिएका छन्।

स्पेनको वामपन्थी दल पोदेमोसका प्रमुख पेब्लो इलिसियासले ग्रीसको निर्वाचनमा परिवर्तनकारी शक्ति विजयी भएको बताए।

स्पेनमा यसै वर्षको अन्त्यमा हुने निर्वाचनमा त्यसै गरी जिताउने पालो स्पेनका जनताको भएको उनको भनाई थियो।

इटलीको नर्थन लिगका प्रमुखले सिरिजा पार्टीको जीत उनकै शब्दमा सोभियत संघको युरो, बेरोजगारी र बैंकहरुको अनुहारमा झापड भएको टिप्पणी गरे।

पोर्चुगलको सोसियालिस्ट पार्टीले सिरिजा पार्टीको विजय मितव्ययितासम्बन्धी कार्यक्रमको विफलताको संकेत भएको जनाएको छ।