‘जहाज मर्मतमा चिनियाँ पक्षद्वारा बेवास्ता’

  • 28 जनवरी 2015
तस्वीर कपीराइट nepal airlines
Image caption नेपाल वायुसेवा निगमले चीनबाट थप जहाज ल्याउने तयारी गरेको बताईएको छ

चीनबाट ल्याएको हवाई जहाज धेरै बिग्रिएको र मर्मतमा चिनियाँ पक्षले बेवास्ता गरेको भन्दै नेपाल वायुसेवा निगमबाट प्राप्त पत्रबारे अध्ययन भईरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

हप्तौँसम्म विमानले उडान भर्न नसक्दा पनि चिनियाँ पक्षले तत्कालै प्राविधिक सहयोग उपलब्ध नगराउने गरेको अनि मर्मत प्रक्रिया निक्कै झन्झटिलो भएको भन्दै निगमले सोमबार मन्त्रालयमा पत्र पठाएको थियो।

नेपाल सरकार र चीन सरकारबीच चीनबाट ४ वटा हवाई जहाज सहुलियत ऋणमा र २ वटा अनुदानमा ल्याउने सम्झौता भएको थियो।

सोही प्रक्रिया अनुसार ५६ सिट क्षमताको एमए ६० विमान झन्डै ९ महिनाअघि अनुदानमा नेपाल भित्रिएको थियो।

मर्मत

तर उडान शुरु गरेको ८ महिनाको अवधिमा सो जहाज करिब २ महिना बिग्रिएर विमानस्थलमै थन्किएको निगमका कर्मचारीहरुले बताउँछन्।

मर्मतका लागि निकै झन्झट बेहोर्नु परेको र चिनियाँ पक्षले दिएको वचन पुरा नगरेको भन्दै निगमले मन्त्रालयमा पत्र नै पठाएको थियो।

जुन पत्रका बारेमा अध्ययन भईरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बताए।

उनले भने, “पत्र पाएर प्रक्रियामा लग्नका लागि अध्ययन गरिरहेका छौं।”

कुनै पनि जहाज बिग्रिएको बढीमा ७२ घण्टामा मर्मत भईसक्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता भएपनि निगमको जहाज हप्तौँसम्म मर्मत हुन नसकेर थन्किने गरेको छ।

ढिलाई

अहिले पनि जहाज बिग्रिएको ९ दिन भईसक्दा मर्मत हुन सकेको छैन्।

चीनबाट पाटपुर्जा ल्याउन तथा तालिम खर्च बेहोर्न महंगो पर्ने मात्र नभई उपकरणहरुलाई ल्याउन ढिलाई समेत हुने गरेकोले समस्या दिन प्रतिदिन बढ्दै गएको निगमको भनाई छ।

निगमले मन्त्रालयमा पठाएको पत्रमा यस्तै अवस्था रहेमा ल्याउने भनेका अरु ४ वटा हवाई जहाज पनि ल्याउन नसकिने र भएको पनि फर्काउनुपर्ने अवस्था रहेको उल्लेख गरिएको निगम प्रवक्ता रामहरि शर्माले बताए।

उनले भने, “यस्तै स्थिति २/३ महिनासम्म रह्यो भने अरु जहाज पनि ल्याउन सक्दैनौं र भएका पनि फर्काउनुपर्ने स्थिति रहेको मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरेका छौं।”

अनुदानमै आएको अर्को जहाज वाई-१२ पनि भनिएको भन्दा कम तौल बोक्ने अवस्थाको पाइएको र हाल उडानका क्रममा तोकिएकोभन्दा कम यात्रु बोक्नुपर्ने अवस्था रहेको निगमको भनाई छ।