महामारीविरुद्ध लड्ने संयन्त्र निर्माणको प्रस्ताव

  • 28 जनवरी 2015
तस्वीर कपीराइट Reuters
Image caption संयन्त्र निर्माणसम्बन्धी प्रस्ताव विश्वका नेताहरुसमक्ष छिट्टै पेश गरिने किमले बताएका छन्

महामारीविरुद्ध लड्नका निम्ति विश्व समुदाय राम्रोसंग तयार नरहेको भन्दै विश्व बैंक समूहका प्रमुख जिम योङ्ग किमले विभिन्न पक्षबीच सहकार्य हुने गरी एउटा साझा संयन्त्रको स्थापना गर्नेसम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका छन्।

उक्त दृष्टिकोण अनुसार बिमा कम्पनीहरु, सरकारहरु, बहुपक्षीय कम्पनीहरु तथा अन्तर्राष्ट्रिय दाताहरु मिलेर एउटा प्रणाली स्थापनाका निम्ति काम गर्नेछन्, जसले सबै मुलुकहरुलाई स्वास्थ्यसंग सम्बन्धित संभावित विपद्हरुको सामना गर्नका निम्ति सघाउनेछ।

जर्जटाउन विश्वविद्यालयमा सहभागीहरुलाई किमले भने, “गिनी, लाइबेरिया र सियरा लियोनमा ज्यान लिने र आर्थिक वृद्धिमा नोक्सानी पुर्याउने सन्दर्भमा इबोला भाइरसको महामारी भयावह रहेको छ।”

इबोला भाइरसको एकजना पनि बिरामी नरहने सुनिश्चित गर्नुपर्ने उनले बताए।

खतरनाक

भविष्यमा इबोला भाइरसभन्दा पनि खतरनाक र संक्रामक महामारीको सामना गर्नका निम्ति तयारी गर्नुपर्ने किमको भनाई थियो।

उनले भने, “यस्तो महामारी निम्ति समर्पित स्रोत चाहिन्छ, इबोलाको प्रसंगमा शुरु भईसकेपछि ९ महिनामा स्रोत परिचालन गरेको अनुभवले देखाउँछ त्यो प्रभावकारी छैन्, त्यसैले छिट्टै परिचालन हुनसक्ने संयन्त्र विकास गर्नुपर्छ।”

आउने वर्षहरुमा अन्य महामारीको सामना गर्नुपर्ने कुरामा कुनै शंका नरहेको भन्दै उनले इबोला भाइरसको महामारीबाट पाठ सिक्नुपर्ने बताए।

तस्वीर कपीराइट EPA
Image caption इबोला भाइरसबाट हालसम्म ८ हजारभन्दा बढी मानिसहरुको ज्यान गईसकेको बताईएको छ

किमका अनुसार, महामारीको सामना गर्नका निम्ति अवधारणा तयार पार्न धेरै महिनादेखि विश्व बैंक समूहले विश्व स्वास्थ्य संगठन, राष्ट्रसंघीय अन्य निकायहरु, प्राज्ञिक संस्थाहरु, बिमा कम्पनीका अधिकारीहरु लगायतसंग काम गरिरहेको छ।

सुदृढ

स्वीट्जरल्याण्डको डाभोसमा गत साता भएको विश्व आर्थिक मञ्चको बैठकमा पनि त्यसबारे अनौपचारिक छलफल गरिएको उनले जनाए।

विकसित र विकासशील देशका नेताहरुसमक्ष त्यससम्बन्धी प्रस्ताव आउने महिनाहरुमा पेश गरिने किमले विश्वास व्यक्त गरे।

उनले भने, “मानिसहरुले बुझ्ने अग्नि बिमा जस्तै उक्त बिमा नीतिले काम गर्नेछ।”

महामारीसंग लड्ने संयन्त्रको निर्माणले विश्व स्वास्थ्य संगठनलाई अझ सुदृढ बनाउने र विकासशील मुलुकहरुमा रोग नियन्त्रण गर्ने सशक्त क्षेत्रीय निकायहरुका निम्ति क्षमता अभिवृद्धि गर्ने किमको भनाई थियो।