इजरेल हिजबुल्ला झडपमा तीन मारिए

  • 29 जनवरी 2015
Image caption इजरेली सैनिक र हेजबुल्ला लडाकुबीच हिंसा भएपछि राष्ट्र संघको बैठक डाकिएको छ

लेबनानी सीमामा हिजबुल्ला लडाकुले इजरेली फौजमाथि आक्रमण गर्दा दुइजना इजरेली सिपाही र एकजना स्पेनका शान्तिसेनाका सदस्य मारिएका छन्।

आफुमाथि क्षेप्यास्त्र आक्रमण भएपछि इजरेली फौजले दक्षिणी लेबननमाथि जवाफी कारवाही गरेको थियो।

फ्रान्सले न्यूयोर्कमा डाकेको आपतकालीन बैठकमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले लडाइँबारे छलफल गर्दैछ।

लेबननमा रहेका बरिष्ठ राष्ट्रसंघीय अधिकारीले तनाव बढ्न नदिन उच्चतम धैर्य अपनाउन आग्रह गरेका छन्।

'मूल्य चुकाउनुपर्ने'

इजरेली प्रधानमन्त्री बिन्यामीन नेतान्याहुले आपतकालीन सुरक्षा बैठक गरेर आक्रमणकारीले 'पुरा मूल्य चुकाउनुपर्ने' बताएका छन्।

इजरेल लेबनन र सिरियाको सीमा जोडिएको ठाउँमा इजरेली सेनाको सवारीमाथि क्षेप्यास्त्र आक्रमण भएपछि सीमा वारपारको हिंसा शुरु भएको हो।

आक्रमणमा दुइ जना सिपाहीको ज्यान गयो।

तस्वीर कपीराइट Reuters
Image caption इजरेली प्रधानमन्त्रीले आक्रमणकालीले 'ठूलो मूल्य चुकाउनुपर्ने' बताएका छन्

सातजना अरु इजरेली सिपाही पनि घाइते भएका छन्।

त्यसको एक घन्टा पछि माउन्ट हेरमनस्थित इजरेली सैन्य कार्यालयमा मोर्टारहरु प्रहार गरिएको थियो।

उद्दार

त्यसपछि उक्त अखडा बन्द गरिएको र त्यस क्षेत्रमा रहेको स्की रिसोर्टबाट सर्वसाधारणको उद्दार गरिएको बताइएको छ।

हिजबुल्लाले गोलन हाइट्समा दश दिन अघि उसका लडाकुहरु र इरानी सेनाका बरिष्ठ अधिकारी समेतको ज्यान लिने गरि भएको इजरेली आक्रमणको बदला लिएको बताएको छ।

इजरेलले पनि त्यसको जवाफमा हवाइ र स्थलगत आक्रमणहरु गरेको सेनाले जनाएको छ।